लगानीको वातावरण बनाउन तत्पर छौं : उद्योगमन्त्री साह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
१२ मंसिर २०८३, शनिबारSaturday, November 28, 2026

अर्थबजार स्टोरी

लगानीको वातावरण बनाउन तत्पर छौं : उद्योगमन्त्री साह

यो समाचार सुन्नुहोस्0:00 / --:--

भैरहवा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहले सरकार मुलुकमा लगानीको वातावरण बनाउन तत्पर रहेको बताएका छन् । उनले उद्योगी–व्यवसायीको साथ पनि सरकारले खोजिरहेको बताएका हुन् ।शनिबार भैरहवामा चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को १९ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री साहले वर्तमान सरकार सोहीअनुसार अघि बढिरहेको बताएका हुन् ।

‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहले आफूलाई मन्त्री बनाउने बेला एउटै कुरो भन्नुभएको थियो,त्यो सम्झिन्छु र त्यही कारणले आज म यहाँ उपस्थिति भएको छु । उहाँ दुवैजनाको एउटै भनाइ थियो, तपाईले उद्योगी–व्यवसायीको मन जित्नुस् र ९६ खर्ब जुन राष्ट्र बैंकमा थुप्रिएको छ, जसको ब्याज मात्र सरकारले लिनुपरेको छ । त्यो रकम उद्योग–व्यवसायमा कसरी चलायमान बनाउने, त्यसको लागि काम गर्नुहोस भनेर उहाँहरुले जिम्मा दिनुभएको छ, त्यसको लागि २४ सै घण्टा खटेको छु,’ मन्त्री साहले भने ।

उनले उद्योग विभागमा एकद्वार प्रणालीलाई सशक्त बनाउन लागिपरेको बताए । उनले उद्योग मन्त्रालयलाई आफ्नै घर सम्झिन आग्रह गरे । 

उनले आफ्नो पारिवारिक पेशा नै व्यवसाय भएको र पढाइको पेशा इन्जिनियरिङ÷औद्योगिक क्षेत्र भएकोले उद्योगी–व्यवसायीको अथाह माया भएको बताए । मञ्चमा मात्र भाषण गर्नुभन्दा बसेर समस्या समाधानका लागि चिन्तित हुनुपर्ने उनको भनाइ थियो । 

यसपटक दशैं–तिहारमा कुनै उद्योगीलाई पक्राउ नगरिएको उनले बताए । तर, कारवाही भने अन्य वर्षभन्दा धेरै भएको उनले जानकारी दिए । आफू मन्त्री बनेको १७ दिनमा साल्ट टे«डिङले तीन लाख जरिवाना तिरेको उनले बताए । 

‘एकीकृत भन्सार जाँच चौकी (आईसीपी) कसरी छिटो सञ्चालन गर्न सकिन्छ, त्यसका लागि एक्शन प्लान मागेका छौं, हस्तकला दिवस मंसिर २८ गते मनाउनका लागि गृह मन्त्रालयमा पत्राचार गरेका छौं,’ उनले भने । 

त्यस्तै प्रतिनिधिसभा सदस्य डा.लेखजंग थापाले आयात कि निर्यात गर्ने उद्योग खोल्ने भन्ने विषयमा गहन छलफल हुन आवश्यक रहेकोमा जोड दिए । उनले निर्यातमुखी उद्योगको प्रवद्र्धन गर्ने खालको नीति ल्याउनुपर्ने बताए ।

लुम्बिनी प्रदेशका शहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री सन्तोष कुमार पाण्डेयले लुम्बिनी प्रदेश सरकार सँधै केन्द्र सरकारको साथमा रहेको बताए । उनले पर्यटनका माध्यमबाट मात्रै मुलुकमा आर्थिक समृद्धि हुने बताए ।

नेपाल चेम्बर अफ कमर्स, लुम्बिनी प्रदेशका अध्यक्ष टंक प्रसाद पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणमा अर्थतन्त्रका विषय केन्द्रमा आउँदा खुसी भएको बताए । उनले अर्थतन्त्र ‘कर्नर’ मा परेर प्राप्त लोकतन्त्रले सार्थकता नपाउने र आम नागरिकले अनुुभुति गर्ने वातावरण बन्न नसक्ने बताए । 

नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले उद्योगको विकास र व्यवसायको प्रवद्र्धन नभएसम्म देशको आर्थिक अवस्था राम्रो हुन नसक्ने बताए । उनले विशेष आर्थिक क्षेत्र (सेज) मा भएका अव्यवहारिक ऐनलाई संशोधन गर्नुपर्नेमा जोड दिए ।

चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष सचिन रोक्काले निजी क्षेत्र आर्थिक विकास, रोजगारी सिर्जना, राजस्व परिचालन र उत्पादन विस्तारको प्रमुख साझेदार भएको बताए । उनले निजी क्षेत्रको मनोबल उच्च राख्ने, लगानी सुरक्षित गर्ने र उत्पादन तथा व्यापारलाई प्रतिष्पर्धी बनाउनुपर्ने बताए । 

प्रकाशित : १२ मंसिर २०८३, शनिबार १८:३३ 28 November, 2026 6:33 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।