१६ हजार मेगावाटका आयोजना पीपीएको पर्खाइमा, ३० हजारको लक्ष्यसहित नयाँ ऊर्जा मिश्रण बनाउँदै सरकार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
१० मंसिर २०८३, बिहिबारThursday, November 26, 2026

अर्थबजार स्टोरी

१६ हजार मेगावाटका आयोजना पीपीएको पर्खाइमा, ३० हजारको लक्ष्यसहित नयाँ ऊर्जा मिश्रण बनाउँदै सरकार

यो समाचार सुन्नुहोस्0:00 / --:--

काठमाडौं । सरकारले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यअनुसार नयाँ ऊर्जा मिश्रण (इनर्जी मिक्स) नीति तयार गर्ने प्रक्रिया अघि बढाएको छ । ऊर्जा उत्पादनमा विभिन्न स्रोतको हिस्सा निर्धारण गरेर लामो समयदेखि रोकिएको विद्युत् खरिद सम्झौता (पीपीए) प्रक्रिया पुनः सञ्चालन गर्ने सरकारको तयारी छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नदी प्रवाही (आरओआर), अर्धजलाशययुक्त (पीआरओआर), जलाशययुक्त, पम्प स्टोरेज, सौर्य, वायु तथा अन्य वैकल्पिक ऊर्जा स्रोतको हिस्सा निर्धारण गर्ने गरी नयाँ ढाँचा बनाउन लागेको हो । नयाँ ऊर्जा मिश्रणले आगामी दशकमा कुन प्रकृतिका आयोजना कति आवश्यक पर्छन् भन्ने आधार तय गर्नेछ ।

हाल नेपालमा करिब ४ हजार २०० मेगावाट विद्युत् उत्पादन क्षमता जडित छ । उत्पादनको ठूलो हिस्सा नदी प्रवाही आयोजनाबाट आउने भएकाले वर्षायाममा बढी र हिउँदमा कम विद्युत् उत्पादन हुने मौसमी असन्तुलन छ । यसलाई व्यवस्थापन गर्न जलाशययुक्त, पम्प स्टोरेज र वैकल्पिक ऊर्जा स्रोतको विकासलाई प्राथमिकता दिनुपर्ने आवश्यकता देखिएको छ ।

यसअघि १५ हजार मेगावाट उत्पादन लक्ष्यका आधारमा ऊर्जा मिश्रण निर्धारण गरिएको थियो । उक्त ढाँचामा जलाशययुक्त तथा पम्प स्टोरेज आयोजनाको हिस्सा ३० देखि ३५ प्रतिशत, नदी प्रवाहीको २५ देखि ३० प्रतिशत, अर्धजलाशययुक्तको ३० देखि ३५ प्रतिशत र अन्य वैकल्पिक ऊर्जाको ५ देखि १० प्रतिशत कायम गरिएको थियो । सौर्य ऊर्जाका लागि पनि करिब १० प्रतिशत हिस्सा प्रस्ताव गरिएको थियो ।

२०७९ असारमा मन्त्रिपरिषद्ले नदी प्रवाही आयोजनाको हिस्सा बढाएर ४० देखि ४५ प्रतिशत पु¥याएपछि पीपीए प्रक्रियामा सोहीअनुसार व्यवस्था गरिएको थियो । त्यसपछि नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले १ हजार ५०० मेगावाटसम्मका नदी प्रवाही आयोजनाको पीपीए स्वीकृत गरेको थियो ।

तर गत आर्थिक वर्षको बजेटमार्फत नदी प्रवाही आयोजनामा ‘टेक एन्ड पे’ व्यवस्था लागू भएपछि पीपीए प्रक्रिया प्रभावित भयो । त्यसयता नदी प्रवाहीसँगै अर्धजलाशययुक्त आयोजनाको पीपीएसमेत रोकिएको छ ।

प्राधिकरणका अनुसार हालसम्म ४०४ नदी प्रवाही आयोजनासँग ६ हजार ७१३.४४ मेगावाट, ५१ अर्धजलाशययुक्त आयोजनासँग ४ हजार १८६.८१ मेगावाट र एउटा जलाशययुक्त आयोजनासँग १४० मेगावाट विद्युत् खरिद सम्झौता भएको छ । तर थप २८१ आयोजना गरी कुल १६ हजार ४२५.७७ मेगावाट क्षमताका आयोजना पीपीएको प्रतीक्षामा छन् ।

पीपीए नहुँदा निजी क्षेत्रका आयोजनाको वित्तीय व्यवस्थापन प्रभावित हुँदै आएको छ । बैंक तथा वित्तीय संस्थाले विद्युत् बिक्रीको सुनिश्चितता खोज्ने भएकाले पीपीएलाई आयोजना निर्माणका लागि ऋण प्राप्त गर्ने प्रमुख आधार मानिन्छ । त्यसैले नयाँ ऊर्जा मिश्रणले पीपीएको बाटो खोल्ने मात्र नभई निजी क्षेत्रको लगानी र आयोजना निर्माणलाई समेत गति दिने अपेक्षा गरिएको छ ।

नयाँ ऊर्जा मिश्रणमा सौर्य, वायु तथा अन्य वैकल्पिक ऊर्जा स्रोतलाई पनि समेट्ने तयारी छ । जलविद्युत्मा अत्यधिक निर्भर रहँदा हिउँदमा उत्पादन घट्ने र माग व्यवस्थापनका लागि भारतबाट विद्युत् आयात गर्नुपर्ने अवस्था रहेकाले ऊर्जा स्रोत विविधीकरणलाई प्राथमिकता दिन लागिएको हो ।

विशेषगरी जलाशययुक्त तथा पम्प स्टोरेज आयोजनाले विद्युत् भण्डारण र मागअनुसार आपूर्ति व्यवस्थापनमा सहयोग पु¥याउन सक्छन् । सौर्य तथा वायु ऊर्जाको विकासले पनि उत्पादन प्रणालीमा विविधता थप्नेछ ।

३० हजार मेगावाट उत्पादनको लक्ष्य पूरा गर्न उत्पादन क्षमता विस्तारसँगै आन्तरिक खपत, प्रसारण पूर्वाधार र अन्तरदेशीय विद्युत् व्यापार विस्तार पनि चुनौतीपूर्ण छ । भारतसँगै बंगलादेशसम्म विद्युत् निर्यातको सम्भावना बढिरहेका बेला सन्तुलित ऊर्जा मिश्रणले वर्षायाम र हिउँद दुवैमा विद्युत् उपलब्धता व्यवस्थापन गर्दै निर्यातयोग्य ऊर्जा उत्पादन बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित : १० मंसिर २०८३, बिहिबार १३:०० 26 November, 2026 1:00 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।