काठमाडौं । कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गरेको हो।
कम्पनीले जारी पुँजी ८० करोड रुपैयाँको १० प्रतिशत अर्थात् ८ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याएको छ। उक्त सेयर काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नम्बर ७ का स्थानीय बासिन्दाले आवेदन दिन पाउनेछन्।
त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् ९० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिएको छ। यसरी कम्पनीले पहिलो चरणमा कुल ८ लाख ९० हजार कित्ता आईपीओ बिक्रीमा ल्याएको छ।
कम्पनीको आईपीओमा स्थानीय बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने न्यूनतम १० कित्तादेखि अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन पाउनेछन्।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्काशन छिटोमा मंसिर २४ गते र ढिलोमा पुस १३ गतेसम्म खुला रहनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने मंसिर १५ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा मंसिर २४ गतेसम्म निष्काशन अवधि थप हुनेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत सी–आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन्। साथै, मेरो सेयरमार्फत पनि आवेदन दिन सकिनेछ।
आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले भने मुक्तिनाथ विकास बैंक र सिन्धु विकास बैंकका बनेपा तथा पाँचखाल शाखाबाट आवेदन दिन सक्नेछन्। आवेदन फारमबापत २ रुपैयाँ शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
आईपीओको रेटिङका क्रममा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।
कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ४.५० वर्ष र डिस्काउन्टेड लगानी फिर्ता हुने अवधि ५.७१ वर्ष रहेको छ। त्यस्तै, कम्पनीको खुद वर्तमान मूल्य १ अर्ब ५९ करोड ९८ लाख ६६ हजार ७५८ रुपैयाँ र आन्तरिक प्रतिफल दर २४.२७ प्रतिशत रहेको विवरणमा उल्लेख छ।






प्रतिक्रिया