मन्त्रिपरिषद्का सात निर्णय : भारत भ्रमणदेखि १०७ मिलियन डलर ऋण स्वीकार गर्नेसम्म « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थ राजनीति

मन्त्रिपरिषद्का सात निर्णय : भारत भ्रमणदेखि १०७ मिलियन डलर ऋण स्वीकार गर्नेसम्म

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण स्वीकृत गर्नेदेखि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट १०७ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्नेसम्मका सात निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न सातवटा महत्वपूर्ण निर्णय गरेको हो।

बैठकले आगामी मङ्सिर ६ र ७ गते प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ। साथै, उक्त भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलसमेत गठन गर्ने निर्णय गरेको छ।

त्यसैगरी, चीन सरकारबाट भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको जीवन रक्षा तथा तत्कालीन उद्धार र राहत कार्यका लागि प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट र्‍यापिड क्रेडिट फ्यासिलिटी (आरसीएफ) अन्तर्गत प्राप्त हुने करिब १०७ मिलियन अमेरिकी डलर बराबरको निर्ब्याजी सहुलियतपूर्ण ऋणसमेत स्वीकार गर्ने निर्णय गरेको छ।

यसैगरी, नेपालभर नापजाँच हुन बाँकी रहेका सरकारी, सार्वजनिक तथा सामुदायिक जग्गाको नापजाँच गरी लगत तयार गर्न आदेश जारी गर्ने निर्णय भएको छ।

मन्त्रिपरिषद् बैठकले राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना २०२६–२०३० स्वीकृत गरेको छ। त्यस्तै, ऐतिहासिक, पुरातात्त्विक तथा सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी मापदण्ड २०८३ र राष्ट्रिय झोलुङ्गे पुल नीति २०८३ पनि स्वीकृत गरेको छ।

मन्त्रिपरिषद्का सात निर्णय यस प्रकार छन् :

१. प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा मङ्सिर ६ र ७ गते हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्ने र नेपाली प्रतिनिधिमण्डल गठन गर्ने।

२. भोटेकोशी बाढी प्रभावितको उद्धार तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने।

३. आईएमएफबाट र्‍यापिड क्रेडिट फ्यासिलिटीअन्तर्गत प्राप्त हुने करिब १०७ मिलियन अमेरिकी डलर बराबरको निर्ब्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने।

४. नापजाँच हुन बाँकी सरकारी, सार्वजनिक तथा सामुदायिक जग्गाको नापजाँच गरी लगत तयार गर्न आदेश जारी गर्ने।

५. राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना २०२६–२०३० स्वीकृत गर्ने।

६. ऐतिहासिक, पुरातात्त्विक तथा सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी मापदण्ड २०८३ स्वीकृत गर्ने।

७. राष्ट्रिय झोलुङ्गे पुल नीति २०८३ स्वीकृत गर्ने।

प्रकाशित : ४ मंसिर २०८३, शुक्रबार १५:२२ 20 November, 2026 3:22 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।