इन्भेष्टमेन्ट र एसको एकीकृत कारोबार सुरु, चुक्ता पुँजी ९ अर्ब २४ करोड पुग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

इन्भेष्टमेन्ट र एसको एकीकृत कारोबार सुरु, चुक्ता पुँजी ९ अर्ब २४ करोड पुग्यो



काठमाडौँ २९ असार । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (एनआईबिएल) र एस डेभलपमेण्ट बैंक लिमिटेड (एस) ले बिहीबारदेखि नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड को नाममा संयुक्त कारोबार सुरु गरेको छ । दुबै बैंकबीचको प्राप्तिप्रक्रिया पूरा भएपछि आजबाट औपचारिक रुपमा संयुक्त कारोवार सुरु भएको हो । एसलाई एक सय बराबर ४१ शेयर स्वाप रेसियोमा खरिद गरेपछि एनआईबिएलको चुक्ता पुँजी ९ अर्ब २४ करोड पुगेको छ ।

८ अर्ब ७८ करोड चुक्तापूँजी रहेको एनआईबिएलले एस थपिएपछि निजिक्षेत्रको सबैभन्दा बढी चुक्ता पुँजी बनाउने बैंकको पंक्तिलाई थप मजबुत बनाएको छ । एसको प्राप्तिपछि एनआईबिएलको संचालक समिति तथा प्रमुख कार्यकारी अधिकृत साविककै रहेको छ भने केन्द्रिय कार्यालय पनि एनआईबिएलको दरबारमार्ग स्थित कार्यालयलाई नै यथावत राखिएको एनआईबिएलले जनाएको छ । एसको प्राप्तिपछि बैंकमा संस्थापक पक्षको स्वामित्व ६९ प्रतिशत र सर्वसाधारणको ३१ प्रतिशत भएको छ ।

एसको प्राप्तिपछि एनआईबिएलको कुलनिक्षेप १ सय २४ अर्ब रुपियाँ पुगेको छ भने कूलकर्जा १ सय सात अर्ब पुगेको बैंकले जनाएको छ ।त्यस्तै पुँजी पर्याप्तता अनुपात १३.९ प्रतिशत पुगेको छ । एसको १२ वटा शाखा तथा एउटा एक्स्टेन्सन काउन्टर थपिएसंगै एनआईबिएलको ६१ वटा शाखा पुगेको छ भने चार वटा एक्स्टेन्सन काउन्टर भएका छन् ।एसको १२ वटा एटिएम थपिएपछि एनआईबिएलको ए.टि.एम. संख्या ९८ वटा पुगेको छ। दुबै बैंकका शाखा तथा एटिएम अहिलेलाई जहाँको त्यही यथावत राखिएको बैंकले जनाएको छ ।

प्रकाशित : २९ असार २०७४, बिहीबार ०७:४१