यती एयरलाइन्सको सीईओमा युवराज विष्ट नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

यती एयरलाइन्सको सीईओमा युवराज विष्ट नियुक्त



काठमाडाैँ । निजी क्षेत्रको वायुसेवा कम्पनी यती एयरलाइन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा युवराज विष्ट नियुक्त भएका छन्। यसअघि कम्पनीको नेतृत्व सम्हाल्दै आएका सुवास सापकोटाको कार्यकाल पूरा भएपछि विष्टलाई नयाँ जिम्मेवारी दिइएको हो।

यती एयरलाइन्समा लामो समयदेखि आबद्ध विष्ट कम्पनीको आन्तरिक व्यवस्थापन, सञ्चालन तथा कार्यप्रणालीबारे जानकार छन्। कम्पनीभित्रै विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आएका उनलाई आन्तरिक अनुभवका आधारमा नेतृत्वमा ल्याइएको हो।

यसअघि सीईओ रहेका सापकोटाले आफ्नो कार्यकालमा कम्पनीको वित्तीय अवस्था सुधार, सञ्चालन खर्च नियन्त्रण र व्यवस्थापनलाई थप चुस्त बनाउने विषयलाई प्राथमिकता दिएका थिए। चार्टर्ड एकाउन्टेन्टसमेत रहेका उनले सञ्चालन लागत घटाउन र अनावश्यक खर्च कटौती गर्न विभिन्न व्यवस्थापकीय निर्णय गरेका थिए।

यती एयरलाइन्स अहिले आफ्नो संस्थागत संरचना र सञ्चालन प्रणालीलाई थप व्यावसायिक बनाउने प्रक्रियामा छ। निजी कम्पनीबाट पब्लिक कम्पनीमा रूपान्तरण हुने प्रक्रियासँगै संस्थागत सुशासन, व्यवस्थापकीय क्षमता र सेवा विस्तारलाई व्यवस्थित बनाउनु नयाँ नेतृत्वका लागि प्रमुख चुनौती हुनेछ।

कम्पनीको आन्तरिक कार्यप्रणाली र सञ्चालनबारे अनुभव हासिल गरेका विष्टको नेतृत्वमा यती एयरलाइन्सले सञ्चालन दक्षता, सेवा गुणस्तर र व्यावसायिक विस्तारलाई कसरी अगाडि बढाउँछ भन्ने विषय चासोका साथ हेरिएको छ।

प्रकाशित : 18 November, 2026 7:54 am