अन्तिम समयमा उकालो लाग्यो नेप्से, कारोबार रकम घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

अन्तिम समयमा उकालो लाग्यो नेप्से, कारोबार रकम घट्यो



काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजारमा सामान्य सुधार देखिएको छ। कारोबारको अधिकांश समय दबाबमा रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक अन्तिम समयमा सकारात्मक बन्दै ६.६२ अंकले बढेर २६६४.१३ विन्दुमा बन्द भएको हो।

यस दिन सेन्सेटिभ इण्डेक्स १.४८ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अंकले वृद्धि भएको छ।

नेप्से परिसूचक बढे पनि बजारको कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन सोमबार ७ अर्ब १८ करोड रुपैयाँबराबरको शेयर कारोबार भएकोमा मंगलबार ३४९ स्टकको ५७ हजार ४४४ पटकको कारोबारमा ५ अर्ब ६५ करोड ११ लाख ४२ हजार रुपैयाँबराबरको १ करोड ५४ लाख २० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन कुल १४३ कम्पनीको शेयरमूल्य बढेको छ भने १२२ कम्पनीको घटेको छ। १४ कम्पनीको शेयरमूल्य भने स्थिर रहेको छ।

मंगलबार शिखर पावर डेभलपमेन्टका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। कम्पनीको शेयरमूल्य ५.९४ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, रिभर फल्स पावरको शेयरमूल्य पनि करिब ६ प्रतिशतले बढेको छ। अन्य कम्पनीको शेयरमूल्य वृद्धिदर भने साढे ४ प्रतिशतभन्दा कम रहेको छ।

यता, बेनी हाइड्रोपावर प्रोजेक्टका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। पछिल्ला दिनमा निरन्तर सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको कम्पनीको शेयरमूल्य यस दिन ५.०४ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा ग्लोबल आइएमई बैंक शीर्ष स्थानमा रहेको छ। बैंकको २३ करोड १४ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, बुटवल पावर कम्पनीको करिब १९ करोड ५० लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ भने कुमारी बैंकको कारोबार रकम १९ करोड रुपैयाँ नाघेको छ।

मंगलबार कारोबारमा आएका १३ उपसमूहमध्ये ९ वटाको परिसूचक बढेको छ भने ४ वटाको घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.०७ प्रतिशतले बढेको छ। बैंकिङ, विकास बैंक, जलविद्युत, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसमूहमा पनि सामान्य वृद्धि देखिएको छ। यता, उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ०.६ प्रतिशतले घटेको छ।

प्रकाशित : 3 November, 2026 3:22 pm