काठमाडौं । सिराहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख देवनाथ साहु तेली र उपप्रमुख रेशमकुमारी थापासहित सात जनाविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हाटबजारको ठेक्का व्यवस्थापन र राजस्व सङ्कलनमा अनियमितता गरी सार्वजनिक सम्पत्तिमा १ करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ १० पैसा हानिनोक्सानी पुर्याएको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
आयोगका अनुसार आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा गोलबजार नगरपालिकाका वडा नम्बर ६ र ७ मा रहेका पशुहाट, बाख्रा हाट तथा गदुरी हाटबजारको राजस्व सङ्कलन गर्ने ठेक्का प्रतिस्पर्धा नगराई वीरेन्द्रकुमार यादवलाई अमानतमा दिइएको थियो ।
आर्थिक वर्ष २०७७/७८ मा नगर कार्यपालिकाको निर्णयबाट २७ लाख ३४ हजार ९१३ रुपैयाँ राजस्व छुट दिइएको आयोगको आरोप छ । स्थानीय तहमा कर छुट दिने अधिकार नगरसभालाई हुने कानुनी व्यवस्थाविपरीत कार्यपालिकाबाट छुट दिने निर्णय गरिएको आयोगले जनाएको छ ।
त्यसैगरी, आर्थिक वर्ष २०७८/७९ मा हाटबजारबाट सङ्कलन गर्नुपर्ने १ करोड ३३ लाख ११ हजार ४३१ रुपैयाँ १० पैसा राजस्व असुल नगरेको आरोप पनि लगाइएको छ । राजस्व छुट दिइएको र असुल हुन नसकेको रकमसमेत जोडेर आयोगले कुल बिगो १ करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ १० पैसा कायम गरेको छ ।
मुद्दा दायर गरिएका सात जनामा तत्कालीन नगरप्रमुख तेली, उपप्रमुख थापा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी, अनन्तकुमार पौड्याल, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रामनारायण महतो, तत्कालीन राजस्व शाखा प्रमुख दिनेशकुमार सहनी र हाटबजारका ठेकेदार यादव रहेका छन् ।
आयोगले प्रतिवादीहरूबाट बिगो असुल गर्न तथा कानुनबमोजिम कैद र जरिवाना गर्न मागदाबी गरेको छ । तत्कालीन नगरप्रमुख तेलीले पदमा रहँदा कसुर गरेको आरोपमा उनीविरुद्ध थप सजायको मागसमेत गरिएको आयोगले जनाएको छ ।
नोट: यो समाचारमा उल्लेखित विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आरोपपत्रमा आधारित छन् । मुद्दाको अन्तिम फैसला नभएसम्म आरोपित व्यक्तिहरूलाई दोषी ठहर भएको मानिँदैन ।





Comment