काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.९४ अंक अर्थात् ०.०३ प्रतिशतले उकालो लाग्दै २ हजार ६३०.७६ विन्दुमा पुगेको हो ।
नेप्सेमा सामान्य वृद्धि देखिए पनि बजारमा सेयर कारोबार रकम भने बढेको छ । सोमबार करिब ४ अर्ब रुपैयाँको कारोबार भएकोमा मंगलबार ३६० स्क्रिप्टको ५ अर्ब ७९ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
मंगलबार कारोबार भएका कम्पनीमध्ये १३५ वटाको सेयर मूल्यमा वृद्धि भएको छ भने १३६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
यस दिन बेनी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै बढेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४.९८ प्रतिशतले उकालो लागेको हो । त्यस्तै, माथिल्लो मैलुङ खोलाको सेयर मूल्य पनि १२.०९ प्रतिशतले वृद्धि भएको छ ।
यता, मंगलबार युनिलिभर नेपालका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४.९१ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर पहिलो स्थानमा रहेको छ । कम्पनीको २८ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यसैगरी, पिपुल्स हाइड्रोपावरको २४ करोड ६९ लाख रुपैयाँ र सानिमा मिडल तमोरको २१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
समग्रमा मंगलबार नेप्से परिसूचकमा सामान्य वृद्धि देखिए पनि सेयर मूल्य बढ्ने र घट्ने कम्पनीको संख्या लगभग बराबर रहेको छ ।





Comment