काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मूल्य संवेदनशील सूचना ढिलो गरी उपलब्ध गराएको भन्दै विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर कारोबार स्थगित गरेको छ। नेप्सेले कम्पनीलाई तीन कार्यदिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशनसमेत दिएको छ।
नेप्सेका अनुसार कम्पनीको सञ्चालक समितिको बैठक गत असोज २६ गते दिउँसो ३ः३० बजे बसेको थियो। बैठकले वार्षिक साधारणसभा बोलाउने, बुक क्लोज गर्ने तथा लाभांश वितरणसम्बन्धी निर्णय गरेको थियो। शेयर मूल्यमा प्रत्यक्ष प्रभाव पार्न सक्ने यी निर्णयबारे कम्पनीले निर्धारित समयभित्र नेप्सेलाई जानकारी गराउनुपर्ने थियो।
तर, कम्पनीले बैठकबाट भएका निर्णयको विवरण असोज २७ गते बेलुका ५ः५९ बजे मात्रै नेप्सेको अनलाइन कारोबार प्रणाली (NOTS) मार्फत पठाएको पाइएको छ। बजार बन्द भएपछि सूचना उपलब्ध गराइएको भन्दै नेप्सेले यसलाई नियमविपरीतको कार्य मानेको छ।
धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) अनुसार मूल्यमा प्रभाव पार्न सक्ने सूचना तथा निर्णय सम्बन्धित सूचीकृत कम्पनीले सोही दिन वा भोलिपल्ट कारोबार सुरु हुनुअघि नेप्सेमा पेस गर्नुपर्छ। विन्ध्यावासिनी हाइड्रोपावरले उक्त व्यवस्थाअनुसार समयमै सूचना नदिएको नेप्सेको ठहर छ।
यसै विषयलाई लिएर नेप्सेले २०८३ असोज २८ गतेको निर्णयअनुसार धितोपत्र सूचीकरण विनियमावलीको विनियम १६ (१) (ख) बमोजिम कम्पनीको शेयर कारोबार रोक्का गरेको जनाएको छ।
नेप्सेले कम्पनीलाई पत्र प्राप्त भएको मितिले तीन कार्यदिनभित्र सूचना ढिलो पठाउनुको कारण खुलाउँदै स्पष्टीकरण पेस गर्न भनेको छ। नेप्सेका सहायक प्रबन्धक सुरेश जोशीद्वारा हस्ताक्षरित पत्रको बोधार्थ नेपाल धितोपत्र बोर्ड, सिडिएस एण्ड क्लियरिङ लिमिटेड तथा नेप्सेका प्रमुख कार्यकारी अधिकृतको सचिवालयलाई समेत पठाइएको छ।
पूँजी बजारमा सबै लगानीकर्ताले समान रूपमा सूचना प्राप्त गर्ने वातावरण बनाउन मूल्य संवेदनशील विवरण समयमै सार्वजनिक गर्नु आवश्यक मानिन्छ। यस्तो व्यवस्था भित्री कारोबारको सम्भावना कम गर्न र बजारमा पारदर्शिता कायम राख्न लागू गरिएको हो।









Comment