रक्तदानदेखि स्वास्थ्य परीक्षणसम्म : सामाजिक सेवामा जिल्ला सहकारी संघ काभ्रे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

रक्तदानदेखि स्वास्थ्य परीक्षणसम्म : सामाजिक सेवामा जिल्ला सहकारी संघ काभ्रे



काभ्रेपलाञ्चोक। जिल्ला सहकारी संघ लि., काभ्रेले सहकारी अभियानलाई सामाजिक सेवासँग जोड्दै धुलिखेल नगरपालिका–५, श्रीखण्डपुर चोकमा बृहत् रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ। समुदायमा स्वास्थ्य सचेतना बढाउने र मानवीय सेवाका रूपमा रक्तदानको संस्कार विकास गर्ने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीयवासी तथा सर्वसाधारणको उत्साहजनक सहभागिता देखिएको छ।

कार्यक्रममा ६२ जनाले रक्तदान गरेका छन् भने करिब ९० जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन्। शिविरमा सुगर, रक्तचापलगायतका स्वास्थ्य परीक्षणसँगै निःशुल्क स्किन टेस्ट र स्वास्थ्य परामर्शसमेत उपलब्ध गराइएको थियो।

जिल्ला सहकारी संघ लि., काभ्रेको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामुदायिक विकास तथा अतिरिक्त क्रियाकलाप उपसमितिको आयोजनामा कार्यक्रम भएको हो। संघले सहकारी क्षेत्रको संस्थागत विकाससँगै समुदायसँग प्रत्यक्ष जोडिने सामाजिक कार्यक्रमलाई पनि आफ्नो गतिविधिको हिस्सा बनाउँदै आएको जनाएको छ।

रक्तदान गर्ने सबै रक्तदातालाई संघको तर्फबाट मायाको चिनो तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो। रक्तदानले आपत्कालीन अवस्थामा आवश्यक पर्ने रगतको उपलब्धतामा योगदान पुर्‍याउने भएकाले कार्यक्रमको महत्वपूर्ण पक्षका रूपमा यसलाई लिइएको संघले जनाएको छ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखा र बनेपा हेल्थ केयरको प्राविधिक सहयोग रहेको थियो। लायन्स क्लब अफ श्रीखण्डपुरले कार्यक्रमको संयोजन गरेको थियो भने रोटरी क्लब अफ पनौती विशेष सहयोगीका रूपमा सहभागी भएको थियो।

त्यस्तै, कार्यक्रम सफल बनाउन ब्लोदान काभ्रे, काभ्रे महिला उद्यमी मञ्च, सौन्दर्य कला व्यवसायी संघ काभ्रे, कस्मेटिक व्यवसाय संघ काभ्रे, बृहत् बहुउद्देश्यीय सहकारी संस्था लि., लक्ष्मी महिला साकोस, सनलाइट साकोस, रोटरी क्लब अफ धुलिखेल, लायन्स क्लब अफ काठमाडौं पूर्व क्षितिज काभ्रे, लायन्स क्लब अफ काभ्रे बनेपा, लायन्स क्लब अफ पनौती, लायन्स क्लब अफ बनेपा सिटी, लायन्स क्लब अफ बनेपा भ्याली, काभ्रे लेडिज जेसिज तथा हलि नेवा गुठी काभ्रे मिसा कचालगायतका संघसंस्था तथा सामाजिक संस्थाको सहयोग र सहभागिता रहेको थियो।

कार्यक्रमबारे जानकारी दिँदै जिल्ला सहकारी संघ लि., काभ्रेका का.मु. प्रमुख कार्यकारी अधिकृत सुजित श्रेष्ठले संघको भूमिका सहकारी संस्थाको संस्थागत विकास र प्रवर्द्धनमा मात्र सीमित नरहेको बताउनुभयो। सामाजिक सरोकारका विषयलाई प्राथमिकतामा राख्दै समुदायसँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने उद्देश्यले संघले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको उहाँको भनाइ छ।

रक्तदान र स्वास्थ्य परीक्षणजस्ता कार्यक्रमले एकैपटक मानवीय सेवा र स्वास्थ्य सचेतना अभिवृद्धिमा सहयोग गर्ने श्रेष्ठले बताउनुभयो। कार्यक्रम सफल बनाउन सहकारी संस्था, सामाजिक संघसंस्था, स्वास्थ्य संस्था तथा स्थानीय समुदायबाट प्राप्त सहयोग महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो।

संघका अध्यक्ष अमन पोटे श्रेष्ठले कार्यक्रम सफल बनाउन सहयोग गर्ने रक्तदाता, स्वास्थ्यकर्मी, प्राविधिक टोली, स्वयंसेवक, विभिन्न संघसंस्था तथा स्थानीय समुदायप्रति धन्यवाद व्यक्त गर्नुभयो। सामाजिक उत्तरदायित्वलाई औपचारिकतामा सीमित नगरी समुदायको वास्तविक आवश्यकता पहिचान गरेर प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने संघको नीति रहेको उहाँले बताउनुभयो।

कार्यक्रमका संयोजक पूर्ण सागर रञ्जितले आगामी दिनमा स्वास्थ्य, शिक्षा, वातावरण, मानवीय सेवा तथा जनचेतनामूलक क्षेत्रमा थप कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभयो। स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा सामाजिक उत्तरदायित्वका कार्यक्रमको दायरा विस्तार गरिने उहाँको भनाइ छ।

रञ्जितले सामाजिक अभियानलाई प्रभावकारी बनाउन विभिन्न संघसंस्था तथा सामाजिक संस्थाबीचको सहकार्यलाई थप विस्तार गरिने बताउनुभयो। सामूहिक प्रयास र साझेदारीबाट मात्रै सामाजिक कार्यक्रमलाई परिणाममुखी बनाउन सकिने भन्दै संघले आगामी दिनमा सहकार्यमा आधारित कार्यक्रमलाई प्राथमिकता दिने उहाँले उल्लेख गर्नुभयो।

श्रीखण्डपुरमा सम्पन्न रक्तदान तथा स्वास्थ्य शिविरले जिल्ला सहकारी संघ काभ्रेले सहकारी क्षेत्रको संस्थागत भूमिकासँगै सामाजिक सेवामा समेत आफ्नो सक्रियता बढाउँदै गएको देखाएको छ। आर्थिक तथा संस्थागत विकाससँगै समुदायको स्वास्थ्य, चेतना र मानवीय सेवामा सहकारी क्षेत्रको सहभागिताले सहकारी अभियान र समुदायबीचको सम्बन्ध थप बलियो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित : 8 October, 2026 5:46 pm