काठमाडौं । नेपाली कांग्रेसकी सहमहामन्त्री एवं १५औँ महाधिवेशनअन्तर्गत अतिथि स्वागत समितिकी संयोजक डा. डिला संग्रौलाले पार्टीमा कुनै पक्ष–विपक्ष नरहेको र गगन थापा निर्विरोध सभापति रहेको बताएकी छन्।महाधिवेशन उद्घाटनअघि सञ्चारकर्मीसँग कुरा गर्दै संग्रौलाले नेपाली कांग्रेसको नेतृत्व गगन थापाले गर्ने कुरा स्पष्ट रहेको बताइन् ।
उनले भनिन्, ‘नेपाली कांग्रेसमा यो पक्ष–विपक्ष छैन, कांग्रेस भनेको गगन थापाको नेतृत्वको कांग्रेस हो । नेपाली कांग्रेसको विधान–संविधानले अर्को कांग्रेस चिन्दैन । निवर्तमान सभापति शेरबहादुर देउवालाई हामीले पत्राचार गरेर हार्दिक आमन्त्रण गरेका छौँ। उहाँलाई बोलाउनु हाम्रो दायित्व र जिम्मेवारी हो । अर्को कांग्रेस नै छैन, कांग्रेस यही हो, गगन थापा निर्विरोध हुनुहुन्छ ।
संग्रौलाले १५औँ महाधिवेशनलाई रूपान्तरण, परिवर्तन र नयाँ यात्राको सुरुवातका रूपमा आफूले हेरेको बताइन् । उनले ७७ वटै जिल्लाबाट प्रतिनिधिहरू काठमाडौं आइसकेको र महाधिवेशनमा उत्साहपूर्ण सहभागिता देखिएको बताइन् ।
‘१५औँ महाधिवेशन रूपान्तरण, परिवर्तन र नयाँ यात्राको रूपमा मैले हेरेको छु । ७७ वटै जिल्लाबाट साथीहरू काठमाडौं आइसक्नुभएको छ । सबैले यो इन्ट्रीका लागि नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा हेर्दा चाडपर्व आएजस्तै उत्साह देखेको छु,’ उनले भनिन् ।
उनका अनुसार महाधिवेशनमा विदेशसहित करिब ७ हजार प्रतिनिधि सहभागी हुँदैछन् । महाधिवेशनको उद्घाटन पार्टी सभापति गगनकुमार थापाले गर्नेछिन् । संग्रौलाले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेसहित विभिन्न राजनीतिक दलका नेताहरूलाई महाधिवेशनमा अतिथिका रूपमा आमन्त्रण गरिएको जानकारी दिइन् ।
‘आज हाम्रो अतिथि गेस्टको रूपमा सत्तापक्षका नेता अथवा रास्वपाका अध्यक्ष रवि लामिछाने शुभकामना दिन आउँदै हुनुहुन्छ । त्यस्तै नेकपा एमाले, नेकपा कम्युनिस्ट पार्टी र अन्य साना दलहरूबाट पनि आउने क्रम जारी छ। सोसलिस्ट इन्टरनेसनलबाट पनि हामीले आमन्त्रण गरेका छौँ,’ उनले भनिन् ।
महाधिवेशनमा सहभागी विदेशी पाहुना तथा अतिथिहरूलाई गेस्ट रुममा स्वागत गरी खुलामञ्चमा हुने उद्घाटन सत्रमा लगिने व्यवस्था गरिएको उनले बताइन् ।









Comment