जिल्ला सहकारी संघ लि. काभ्रेको ४५औँ वार्षिक साधारण सभा सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

जिल्ला सहकारी संघ लि. काभ्रेको ४५औँ वार्षिक साधारण सभा सम्पन्न



काभ्रेपलाञ्चोक । जिल्ला सहकारी संघ लि. काभ्रेपलाञ्चोकको ४५औँ वार्षिक साधारण सभा शनिबार बनेपा–७ स्थित संघको भवनमा अध्यक्ष अमन पोटे श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ।

साधारण सभामा सञ्चालक तथा लेखा सुपरिवेक्षण समिति, सल्लाहकार तथा पूर्वअध्यक्ष, विषयगत सहकारी संघका अध्यक्ष एवं प्रतिनिधि, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पदाधिकारी, सञ्चारकर्मी, सदस्य संघ–संस्थाका प्रतिनिधि, उपसमिति सदस्य तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। संघकी महिला उपाध्यक्ष मिरा सत्यालले स्वागत मन्तव्य राख्नुभएको थियो।

सभामा सचिव प्रकाश बञ्जाराले आ.व. २०८२/८३ को वार्षिक प्रगति तथा आगामी आ.व. २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो। कोषाध्यक्ष अर्जुन प्रसाद सापकोटाले आर्थिक प्रगति प्रतिवेदन तथा आगामी वर्षको अनुमानित आय–व्यय र बजेट प्रस्तुत गर्नुभयो भने लेखा सुपरिवेक्षण समितिका सदस्य पवनराज कर्णजीतले समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो।

अध्यक्ष श्रेष्ठले संघका गतिविधिलाई प्रविधिमैत्री बनाउँदै सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउन डिजिटाइजेसनमा जोड दिइएको बताउनुभयो। उहाँले मितव्ययी व्यवस्थापन, संघ–संस्थाबीच प्रभावकारी समन्वय तथा सदस्यकेन्द्रित सेवासँगै सहकारीलाई उत्पादन, उद्यमशीलता र रोजगारी सिर्जनासँग जोड्नुपर्नेमा जोड दिनुभयो।

पाँच विधामा पुरस्कार तथा सम्मान

सभाको अवसरमा विभिन्न पाँच विधामा पुरस्कार तथा सम्मान प्रदान गरिएको छ। सहकारी पत्रकारिता पुरस्कार–२०८३ पत्रकार मोतीराम तिमल्सिनालाई प्रदान गरिएको छ। सहकारी, सामाजिक तथा आर्थिक विषयमा लामो समयदेखि पत्रकारितामार्फत योगदान पु¥याएको आधारमा उहाँ सम्मानित हुनुभएको हो।

त्यस्तै, सहकारी व्यवसाय पुरस्कार–२०८३ (कृषि) प्रतिष्ठा कृषि सहकारी संस्था लि., पाँचखाल–३ र बहुउद्देश्यीय विधातर्फ सहयात्रा देवीस्थान बहुउद्देश्यीय सहकारी संस्था लि., पनौती–६ लाई प्रदान गरिएको छ।

सहकारी सर्वोत्कृष्ट कर्मचारी पुरस्कार–२०८३ लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लि., पनौती–५ का प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझीलाई प्रदान गरिएको छ। त्यसैगरी, असल ऋणी संस्था पुरस्कार तथा सम्मान–२०८३ नमस्ते कृषि सहकारी संस्था लि., धुलिखेल–३ लाई प्रदान गरिएको छ।

साधारण सभाले वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, आगामी नीति तथा कार्यक्रम र बजेटलगायत प्रस्तुत प्रस्तावहरू छलफल गरी पारित गरेको छ। बन्द सत्रमा सदस्य तथा प्रतिनिधिहरूले राखेका जिज्ञासाको जवाफ सचिव प्रकाश बञ्जारा र अध्यक्ष अमन पोटे श्रेष्ठले दिनुभएको थियो।

सभाको समापन गर्दै अध्यक्ष श्रेष्ठले साधारण सभा सफल बनाउन सहयोग गर्नुहुने सदस्य संघ–संस्था, अतिथि, प्रतिनिधि, सञ्चारकर्मी, सल्लाहकार, उपसमिति सदस्य तथा कर्मचारीलगायत सम्पूर्णमा धन्यवाद व्यक्त गर्नुभयो।

प्रकाशित : 3 October, 2026 9:39 pm