‘दूरसञ्चार क्षेत्रमा देखिएका जटिलता समाधान गर्न नियामक निकाय प्रभावकारी बन्नुपर्छ’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

‘दूरसञ्चार क्षेत्रमा देखिएका जटिलता समाधान गर्न नियामक निकाय प्रभावकारी बन्नुपर्छ’



काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले दूरसञ्चार क्षेत्रमा देखिएका जटिलता समाधान गर्न नियामक निकायले आफ्नो भूमिका थप प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष घिमिरेले सेवा प्रदायकलाई सेवाप्रति जिम्मेवार बनाउन प्राधिकरणले आफ्ना कामकारबाही तथा सेवासँग सम्बन्धित विषय सार्वजनिक गर्दै आएको बताए । 

उनले दूरसञ्चार सेवा व्यवस्थित हुन नसके त्यसको प्रत्यक्ष असर आम उपभोक्तामा पर्ने बताए । आफूहरू पनि उपभोक्ता भएकाले सेवाको गुणस्तर र व्यवस्थापनका विषयमा प्राधिकरण गम्भीर हुनुपर्ने उनले बताए । 

उनले भने, ‘अहिले दूरसञ्चार सेवा अत्यावश्यक भइसकेको छ । यो अत्यावश्यक सेवालाई व्यवस्थित रूपमा लैजान सकेनौँ भने त्यसको मार हामी कन्ज्युमरमा पर्छ । कन्ज्युमरका हिसाबले सेवाप्रति अलिकति व्यवस्थित गर्नको लागि सिरियस रूपमै लाग्नुपर्ने अवस्था छ ।’  

घिमिरेले नेपालको दूरसञ्चार क्षेत्रमा पछिल्लो समय विभिन्न चुनौती देखिएको बताए । उनले विगतमा भ्वाइस सेवाका ६ वटा अपरेटर रहेकामा अहिले दुई वटामा सीमित भएको बताए । इन्टरनेट सेवा प्रदायक (आईएसपी)को संख्या भने बढेको उनले बताए ।

उनले दूरसञ्चार क्षेत्रको कुल आम्दानी घट्दो क्रममा रहेको र डाटातर्फको आम्दानी बढे पनि भ्वाइस सेवाबाट हुने आम्दानी घटिरहेको जानकारी दिए ।

प्राधिकरणले दूरसञ्चार क्षेत्रका गतिविधि तथा समस्याबारे आम उपभोक्तालाई सुसूचित गराउन सञ्चारमाध्यमसँग सहकार्य आवश्यक रहेको उनले बताए । उनले प्राधिकरणको कामलाई निगरानी गर्न सञ्चारमाध्यमले ‘वाचडग’को भूमिका निर्वाह गर्नुपर्ने बताए । 

घिमिरेले प्राधिकरणलाई काम गर्ने क्रममा कुनै दबाब वा प्रभाव आएमा समेत सञ्चारमाध्यमले खबरदारी गर्नुपर्ने बताए । प्राधिकरणले आफूले गरेका कामकारबाहीबारे प्रत्येक महिना सञ्चारमाध्यमसमक्ष जानकारी गराउने योजना बनाएको पनि अध्यक्ष घिमिरेले बताए । 

प्रकाशित : 1 October, 2026 4:25 pm