मुनलाइट हाइड्रोपावरको ९२ करोडको शेयर प्रत्याभूति ज्योति क्यापिटलले गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मुनलाइट हाइड्रोपावरको ९२ करोडको शेयर प्रत्याभूति ज्योति क्यापिटलले गर्ने



काठमाडौं । मुनलाइट हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गर्न लागेको सेयरको प्रत्याभूतिकर्तामा ज्योति क्यापिटल लिमिटेड नियुक्त भएको छ ।

कम्पनीले सर्वसाधारणलाई निष्कासन गर्न लागेको ९२ लाख ४१ हजार ४२६ कित्ता साधारण सेयरको प्रत्याभूति ज्योति क्यापिटलले गर्ने भएको हो । प्रतिकित्ता १०० रुपैयाँका दरले उक्त सेयरको कुल रकम ९२ करोड ४१ लाख ४२ हजार ६०० रुपैयाँ रहेको छ ।

यससम्बन्धी सम्झौतामा ज्योति क्यापिटल र मुनलाइट हाइड्रोपावरबीच हस्ताक्षर भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा ज्योति क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र मुनलाइट हाइड्रोपावरका सञ्चालक समिति अध्यक्ष कल्याण विक्रम न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । ज्योति विकास बैंकको सहायक कम्पनीका रूपमा रहेको ज्योति क्यापिटलको चुक्ता पुँजी २१ करोड रुपैयाँ रहेको छ ।

क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकिङ कारोबारको अनुमति प्राप्त गरी धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन, संस्थागत परामर्श, धितोपत्र प्रत्याभूति तथा शेयर रजिस्ट्रारलगायतका सेवा प्रदान गर्दै आएको जनाएको छ ।

प्रकाशित : 30 September, 2026 5:02 pm