१५ लाख कित्ता शेयर बिक्रीको पत्र नक्कली भएको हाथवे इन्भेष्टमेन्टको स्पष्टीकरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

१५ लाख कित्ता शेयर बिक्रीको पत्र नक्कली भएको हाथवे इन्भेष्टमेन्टको स्पष्टीकरण



काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले कम्पनीको नाम, लेटरहेड, छाप तथा कम्पनी सचिवको हस्ताक्षर दुरुपयोग गरी सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा नक्कली पत्र प्रसारित गरिएको भन्दै खण्डन गरेको छ।

कम्पनीका अनुसार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई सम्बोधन गरिएको र चलानी नम्बर ३५/८३/८४ तथा मिति २०८३/०६/११ उल्लेख भएको ‘शेयर बिक्री गर्ने सम्बन्धमा’ शीर्षकको पत्र सामाजिक सञ्जालमा प्रसारित भएको थियो। उक्त पत्रमा कम्पनीका शेयरधनी अम्बिका प्रसाद पौडेलले आगामी तीन महिनाभित्र १५ लाख कित्ता शेयर बिक्री गर्ने मनसायबारे कम्पनीलाई जानकारी गराएको उल्लेख गरिएको थियो।

तर कम्पनीले उक्त पत्र आफूले जारी नगरेको र पूर्ण रूपमा नक्कली रहेको स्पष्ट पारेको छ। कम्पनीका अनुसार पत्रमा प्रयोग गरिएको लेटरहेड, चलानी नम्बर, छाप तथा कम्पनी सचिवको हस्ताक्षर कम्पनीको जानकारी र स्वीकृतिबिना जालसाजीपूर्ण रूपमा तयार गरी दुरुपयोग गरिएको हो।

कम्पनीले विज्ञप्ति जारी गरिएको मितिसम्म उक्त पत्रमा नाम उल्लेख गरिएका शेयरधनी अम्बिका प्रसाद पौडेलबाट शेयर बिक्री गर्ने मनसायसहित कुनै निवेदन, सूचना वा जानकारी प्राप्त नभएको पनि जनाएको छ।

५ प्रतिशतभन्दा बढी शेयर बिक्री गर्दा पूर्वसूचना दिनुपर्ने

नेपाल धितोपत्र बोर्डले २०८३ भदौ ९ गते जारी गरेको निर्देशनअनुसार सूचीकृत कम्पनीका आधारभूत शेयरधनीले आफूले धारण गरेको शेयरको ५ प्रतिशतभन्दा बढी बिक्री गर्नुपर्ने भए कम्तीमा १५ दिनअघि कम्पनीलाई लिखित जानकारी दिनुपर्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ।

यस्तो जानकारी प्राप्त भएपछि कम्पनीले नेप्सेमार्फत सार्वजनिक गर्नुपर्ने र उक्त जानकारीको मान्य अवधि तीन महिनाको हुने व्यवस्था रहेको पनि हाथवे इन्भेष्टमेन्टले स्पष्ट पारेको छ।

कम्पनीले वास्तविक रूपमा यस्तो जानकारी प्राप्त भएमा नेप्सेको आधिकारिक सूचना प्रणाली र कम्पनीको वेबसाइटमार्फत मात्र सार्वजनिक गर्ने जनाएको छ। अन्य माध्यमबाट प्रकाशित सूचनालाई अप्रमाणित मान्न कम्पनीले शेयरधनी तथा लगानीकर्तालाई आग्रह गरेको छ।

नक्कली सूचना प्रसारविरुद्ध कानुनी कारबाही गर्ने

कम्पनीले सर्वसाधारण शेयरधनीलाई भ्रममा पार्ने, शेयर कारोबारमा अस्वाभाविक प्रभाव पार्ने तथा कम्पनी, शेयरधनी र पदाधिकारीको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले नक्कली सूचना प्रसारित गरिएको भन्दै आपत्ति जनाएको छ।

यस विषयमा नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जमा लिखित उजुरी दिने प्रक्रिया अघि बढिरहेको कम्पनीले जनाएको छ। नक्कली पत्र तयार गर्ने, प्रसार गर्ने तथा जानीजानी पुनः प्रकाशन वा प्रसारण गर्ने पक्षविरुद्ध प्रचलित कानुनबमोजिम उपलब्ध कानुनी उपचार अवलम्बन गर्ने कम्पनीको भनाइ छ।

कम्पनीले आफ्ना सम्बन्धमा कुनै सूचना प्रकाशन गर्नुअघि कम्पनी सचिवालयबाट यकिन गर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ। साथै, नक्कली पत्र आफ्नो प्लेटफर्मबाट हटाउन र कम्पनीको आधिकारिक स्पष्टीकरणलाई समान प्राथमिकताका साथ प्रकाशन गर्नसमेत सम्बन्धित सञ्चारमाध्यमलाई अनुरोध गरेको छ।

हाथवे इन्भेष्टमेन्टले शेयरधनी तथा लगानीकर्तालाई सामाजिक सञ्जालमा प्रसारित अप्रमाणित सामग्रीका आधारमा लगानीसम्बन्धी निर्णय नगर्न र कम्पनी, नेप्से तथा नेपाल धितोपत्र बोर्डबाट जारी हुने आधिकारिक सूचनामा मात्र भर पर्न आग्रह गरेको छ।

प्रकाशित : 30 September, 2026 2:58 pm