काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिका–२ मा निर्माणाधीन ६३ मेगावाट क्षमताको छुजुङ खोला अर्धजलाशययुक्त जलविद्युत आयोजनाका लागि ९ अर्ब रुपैयाँ ऋण लगानी जुटेको छ। सांग्रिला ऊर्जा लिमिटेडले प्रवर्द्धन गरिरहेको आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा आधा दर्जन बैंक तथा वित्तीय संस्थाले सहवित्तीयकरणमार्फत ऋण लगानी गर्ने भएका हुन्।
आयोजनाको कुल अनुमानित लागत १२ अर्ब रुपैयाँ रहेको छ। यसमध्ये ९ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट ऋण र बाँकी ३ अर्ब रुपैयाँ संस्थापकको स्वपुँजीबाट जुटाइनेछ।
सहवित्तीयकरणमा माछापुच्छ्रे बैंक अगुवा बैंक रहेको छ भने प्रभु बैंक र लुम्बिनी विकास बैंक सह–अगुवा बैंकका रूपमा सहभागी छन्। त्यस्तै, मुक्तिनाथ विकास बैंक, एनआईसी एशिया बैंक र सांग्रिला डेभलपमेन्ट बैंक सदस्य बैंकका रूपमा सहभागी भएका छन्।
आयोजनाको प्रतिमेगावाट लागत करिब १९ करोड रुपैयाँ अनुमान गरिएको छ। ४ घण्टा अर्धजलाशययुक्त प्रकृतिको आयोजना निर्माण सम्पन्न भएपछि सुक्खायाममा समेत दैनिक चार घण्टा पूर्ण क्षमतामा विद्युत उत्पादन गर्ने गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ।
नेपाल विद्युत प्राधिकरणसँग आयोजनाको विद्युत खरिद सम्झौता (पीपीए) भइसकेको छ। कम्पनीको सम्भाव्यता अध्ययनअनुसार आयोजनाले वार्षिक ३७ करोड १८ लाख युनिट विद्युत उत्पादन गर्नेछ।
आयोजनाबाट विद्युत उत्पादन सुरु भएको पहिलो वर्ष २ अर्ब २७ करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ। सञ्चालनको नवौँ वर्षमा वार्षिक आम्दानी करिब २ अर्ब ८४ करोड रुपैयाँ पुग्ने अनुमान छ।
आयोजनाको वित्तीय विश्लेषणअनुसार इक्विटीमा प्रतिफल (आरओई) २५.६७ प्रतिशत र आन्तरिक प्रतिफल दर (आईआरआर) १५.४७ प्रतिशत रहने प्रक्षेपण गरिएको छ। आयोजनाको लाभ–लागत अनुपात १.५८ र खुद वर्तमान मूल्य (एनपीभी) ५ अर्ब ३३ करोड रुपैयाँ रहेको छ।
आयोजनामा प्रमुख सेयरधनीका रूपमा घलेम्दी हाइड्रो लिमिटेडको करिब १ अर्ब १० करोड रुपैयाँ लगानी रहेको छ।
आयोजनाको विद्युतगृहबाट करिब ५५ किलोमिटर दूरीमा रहेको नेपाल विद्युत प्राधिकरणको शीतलपाटी २२० केभी सबस्टेसनमा विद्युत जोडिनेछ। त्यसका लागि ५५ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गर्नुपर्नेछ। सोही नदी करिडोरमा निर्माण हुने अन्य आयोजनासँग साझेदारी गरेर प्रसारण लाइन निर्माण गर्ने सम्झौता भएको कम्पनीले जनाएको छ।
आयोजनाका लागि आवश्यक रुख कटानको काम सम्पन्न भइसकेको छ। एक रुख काटेबापत १० रुख रोप्ने नीतिअनुसार वन तथा भूसंरक्षण विभागलाई ३ करोड ६३ लाख रुपैयाँ प्रदान गरिएको छ। त्यस्तै, १४ किलोमिटर लामो पहुँचमार्ग र आयोजना क्याम्प निर्माणको काम पनि सम्पन्न भएको छ।
सांग्रिला ऊर्जाका अनुसार आयोजनाको भौगोलिक तथा प्राविधिक अवस्थाका कारण तुलनात्मक रूपमा कम लागत र छोटो समयमा निर्माण सम्पन्न गर्न सकिने अवस्था छ। आयोजनाको हेड ९०० मिटरभन्दा बढी रहेको र क्याचमेन्टको ५९ प्रतिशतभन्दा बढी भूभाग ३ हजार मिटरभन्दा माथि रहेको कम्पनीले जनाएको छ।
आयोजनाका प्रवर्द्धकले निर्माणलाई समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्। बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिले पनि आयोजना तोकिएको समयमै सम्पन्न गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सहयोग गर्ने बताएका छन्।
यसैबीच, सांग्रिला ऊर्जाले बाजुराको विछ्यामा १७१ मेगावाट क्षमताको छिम्दी कवाडी खोला जलाशययुक्त जलविद्युत आयोजना पनि अघि बढाउने भएको छ। उक्त आयोजनाको हाल सम्भाव्यता अध्ययन भइरहेको कम्पनीले जनाएको छ।









Comment