ईएफटी कार्ड सेवामा थपिए २ वाणिज्य बैंक र ५ वित्त कम्पनी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ईएफटी कार्ड सेवामा थपिए २ वाणिज्य बैंक र ५ वित्त कम्पनी



काठमाडौं । एनसीएचएलको ईएफटी कार्ड सेवामा थप २ वाणिज्य बैंक र ५ वित्त कम्पनी आबद्ध भएका छन्। नयाँ सदस्य थपिएसँगै ईएफटी कार्ड स्वीचमा आबद्ध बैंक तथा वित्तीय संस्थाको संख्या १७ पुगेको छ।

एनसीएचएलले ईएफटी कार्ड सेवाका सदस्य बैंक तथा वित्तीय संस्थासँग अन्तर्क्रिया कार्यक्रम आयोजना गर्दै नयाँ सदस्यलाई स्वागत गरेको हो। कार्यक्रममा २२ बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि तथा एनसीएचएलका वरिष्ठ अधिकारी सहभागी थिए।

कार्यक्रममा ईएफटी कार्ड सेवाको सञ्चालन, ग्राहकका अपेक्षा, प्रविधिको विकास, कार्ड भुक्तानीको सुरक्षा तथा आगामी नयाँ पहलका विषयमा छलफल भएको थियो। सदस्य बैंक तथा वित्तीय संस्थाबाट सेवा सुधारका लागि सुझाव तथा प्रतिक्रिया समेत संकलन गरिएको एनसीएचएलले जनाएको छ।

एनसीएचएलका अनुसार ईएफटी कार्ड सेवा बैंक तथा वित्तीय संस्थाका लागि उपलब्ध गराइएको केन्द्रीय स्वीचिङ समाधान हो। यसमार्फत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्ड नेटवर्कका कारोबार प्रशोधन, कार्ड जारी तथा कारोबार स्वीकार गर्ने सुविधा उपलब्ध छ।

ईएफटीमार्फत सदस्य बैंक तथा वित्तीय संस्थाले भिसा र नेसनल पेमेन्ट कार्ड जारी गर्न सक्छन्। त्यस्तै भिसा, मास्टरकार्ड, युनियनपे, डिस्कभर, जेसीबी, रूपे र नेसनल पेमेन्ट कार्डलगायत प्रमुख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नेटवर्कका कार्ड कारोबार स्वीकार गर्न सकिने एनसीएचएलले जनाएको छ।

आर्थिक वर्ष २०८२/८३ मा नेपालमा कार्डमार्फत १० खर्ब १९ अर्ब रुपैयाँ बराबरका करिब १२ करोड ९० लाख कारोबार भएका थिए। सो अवधिमा १ करोड ४३ लाख ३० हजार कार्ड प्रचलनमा थिए।

त्यसमध्ये ईएफटीमार्फत २ खर्ब ५५ अर्ब रुपैयाँ बराबरका ३ करोड २० लाख कारोबार भएका थिए। ईएफटीमार्फत जारी भएका कार्डको संख्या ३४ लाख ४० हजार रहेको एनसीएचएलले जनाएको छ। गत आर्थिक वर्षमा ईएफटीले नेपाली कार्ड बजारमा करिब २५ प्रतिशत हिस्सा ओगटेको थियो।

ईएफटीको ‘थ्रीडी सेक्योर’ सेवाले अनलाइन कार्ड कारोबारलाई सुरक्षित बनाउन सहयोग गर्छ। त्यस्तै, ई–कमर्स पेमेन्ट गेटवेमार्फत सदस्य बैंक तथा वित्तीय संस्थाका अनलाइन मर्चेन्टले कार्डबाट भुक्तानी प्राप्त गर्न सक्छन्। हाल यो सेवा ६ वटा बैंक तथा वित्तीय संस्थाले प्रदान गर्दै आएका छन् भने १ सय १५ भन्दा बढी मर्चेन्ट आबद्ध भइसकेका छन्।

एनसीएचएलले राष्ट्रिय भुक्तानी प्रणालीअन्तर्गत ‘नेसनल पेमेन्ट कार्ड’लाई राष्ट्रिय कार्ड योजनाका रूपमा अघि बढाएको जनाएको छ। ईएफटी कार्ड स्वीचलाई राष्ट्रिय भुक्तानी प्रणालीमा आबद्ध गरी नेसनल पेमेन्ट कार्ड जारी तथा कारोबार स्वीकार गर्न सक्ने व्यवस्था गरिएको छ।

यसबाट सहभागी बैंक तथा वित्तीय संस्थाले विद्यमान पूर्वाधारकै प्रयोग गरी नेसनल पेमेन्ट कार्ड जारी तथा कारोबार स्वीकार गर्न सक्नेछन्।

आगामी दिनमा बैंक तथा वित्तीय संस्था, इकोसिस्टम साझेदार र अन्तर्राष्ट्रिय कार्ड नेटवर्कसँग सहकार्य गर्दै कार्ड भुक्तानीको क्षमता विस्तार, अन्तरआबद्धता तथा सुरक्षा सुदृढीकरण र नयाँ भुक्तानी समाधानको प्रवद्र्धनलाई निरन्तरता दिने एनसीएचएलले जनाएको छ।

प्रकाशित : 25 September, 2026 9:45 pm