बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा



काठमाडौं । काठमाडौं उपत्यकाभित्र बिग्रिएका संघीय सडकको मर्मतसम्बन्धी गुनासो तथा सुझाव दर्ता गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा ल्याइएको छ । सडक डिभिजन काठमाडौंले सफल परीक्षणपछि एपलाई औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो ।

अब उपत्यकाका नागरिकले संघीय सडकअन्तर्गतका बिग्रिएका सडकको मर्मतसम्बन्धी गुनासो तथा सुझाव एपमार्फत दर्ता गर्न सक्नेछन् । एपमा दर्ता गरिएको गुनासोको समाधान प्रक्रिया र अवस्था नागरिकले प्रत्यक्ष हेर्न सक्ने व्यवस्था गरिएको छ । गुनासो सम्बोधन भएपछि त्यसको जानकारीसमेत एपमार्फत प्राप्त हुने सडक डिभिजन काठमाडौंले जनाएको छ ।

हाल एपमार्फत काठमाडौं उपत्यकाभित्र संघीय सडकअन्तर्गतका करिब ४७२ किलोमिटर सडक सम्बन्धी गुनासो तथा सुझाव दर्ता गर्न सकिनेछ । संघीय सडकअन्तर्गत नपर्ने सडकका सम्बन्धमा भने उक्त सडक कुन निकायको जिम्मेवारीमा पर्छ भन्ने जानकारीसमेत एपबाट उपलब्ध गराइनेछ ।

सडक मर्मतसम्बन्धी गुनासो व्यवस्थापनलाई प्रभावकारी बनाउँदै एपलाई देशभर विस्तार गर्ने तयारी गरिएको छ । आगामी दुई हप्ताभित्र ललितपुर र भक्तपुरलाई समेटेर सेवा विस्तार गर्ने र त्यसपछि क्रमशः देशभर सञ्चालनमा ल्याउने सडक डिभिजन काठमाडौंको लक्ष्य छ ।

प्रकाशित : 17 September, 2026 12:58 pm