राजविराज । आर्थिक अभावका कारण उपचार नपाएको आरोपपछि राजविराजमा एक विपन्न महिलाले अस्पतालको मूल गेटनजिकै बच्चा जन्माउनुपरेको घटना सार्वजनिक भएको छ। राजविराज नगरपालिका–१४ पर्साहीकी बबिता पासवानले गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालबाट उपचार पाउन नसकेपछि अस्पताल परिसरबाहिरै प्रसूति हुनुपरेको परिवारले जनाएको छ।
प्रसव पीडा सुरु भएपछि बबिता मंगलबार राति करिब डेढ बजे श्रीमान् हरेराम पासवान र आफन्त दुई महिलासहित सिटी रिक्सामा अस्पताल पुगेकी थिइन्। अस्पतालको प्रसूति विभागमा पुगेपछि स्वास्थ्यकर्मीले उपचारअघि अल्ट्रासाउन्डसँगै रगत तथा पिसाब परीक्षण गर्नुपर्ने बताएका थिए।
परिवारका अनुसार ती परीक्षणका लागि करिब २ हजार ५ सय रुपैयाँ आवश्यक पर्ने जानकारी दिइएको थियो। तर, दैनिक गुजारा चलाउनसमेत कठिन अवस्थामा रहेको परिवारले तत्काल उक्त रकम जुटाउन नसक्ने बताएको थियो।
बबिताले यसअघि तीन सन्तानलाई सामान्य प्रसूति प्रक्रियाबाट जन्म दिएको र त्यतिबेला कुनै परीक्षण नगराएको बताएकी थिइन्। तर, आवश्यक परीक्षणबिना उपचार अघि बढाउन नमिल्ने अवस्था बनेपछि आफूहरूलाई अस्पतालबाट बाहिरिन भनिएको परिवारको आरोप छ।
अस्पतालबाट बाहिरिएपछि प्रसव पीडा झन् चर्किएको र बुधबार बिहान करिब साढे २ बजे अस्पतालकै अगाडिको फुटपाथमा बबिताले बच्चा जन्माएको परिवारले जनाएको छ।
सरकारी अस्पतालको गेटअगाडि नै महिलाले सडक पेटीमा बच्चा जन्माएको दृश्य सार्वजनिक भएपछि घटनाले सामाजिक सञ्जालमा समेत व्यापक चर्चा पाएको छ। आर्थिक रूपमा कमजोर भएकै कारण एक गर्भवती महिलाले समयमै स्वास्थ्य सेवा नपाएको हो भने यो विषय स्वास्थ्य सेवाको पहुँच र अस्पतालको कार्यशैलीसँग जोडिएको गम्भीर प्रश्न बन्ने देखिएको छ।
घटनाको निष्पक्ष छानबिन गरी वास्तविक अवस्था सार्वजनिक गर्न र दोषी देखिए सम्बन्धित पक्षमाथि कारबाही गर्नुपर्ने माग उठिरहेको छ।









Comment