पाँच वर्षपछि पनि एमजी मोटर नेपालको ग्राहकप्रतिको प्रतिबद्धता निरन्तर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

पाँच वर्षपछि पनि एमजी मोटर नेपालको ग्राहकप्रतिको प्रतिबद्धता निरन्तर



काठमाडौं । भारतमा एमजीले आफ्नो सवारीसाधन बिक्री तथा उत्पादन सञ्चालन बन्द गर्ने घोषणा गरेको पाँच वर्ष पूरा भए पनि नेपालमा एमजी मोटर नेपालको ग्राहक सेवा र व्यवसायिक गतिविधि निरन्तर रहेको कम्पनीले जनाएको छ।

एमजीले सन् २०२१ सेप्टेम्बर ९ मा भारतमा सवारीसाधन बिक्री तथा उत्पादन सञ्चालन बन्द गर्ने घोषणा गरेको थियो। भारतमा बिक्री सञ्चालन बन्द भए पनि त्यहाँका विद्यमान ग्राहकलाई अफ्टर–सेल्स नेटवर्कमार्फत सेवा तथा सहयोग प्रदान गर्दै आएको कम्पनीले जनाएको छ।

नेपालमा भने एमजी मोटर नेपालले ग्राहकप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै आएको छ। एमजी गाडीका ग्राहकलाई सर्भिस, स्पेयर पार्ट्स, प्राविधिक विशेषज्ञता तथा ग्राहक सेवा उपलब्ध गराउँदै कम्पनीले सहज र विश्वसनीय स्वामित्व अनुभव प्रदान गर्ने प्रयास गरिरहेको जनाएको छ।

कम्पनीले नेपालमा एमजीका अन्तर्राष्ट्रिय मोडलहरूको बिक्रीलाई पनि निरन्तरता दिँदै आएको छ। हाल एमजी एस्टर, एमजी र्‍यान्जर तथा एमजी र्‍यान्जर क्याप्टरलगायतका मोडलहरू नेपाली बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। आगामी दिनमा नेपालमा थप नयाँ एमजी मोडल सार्वजनिक गर्ने तयारीसमेत भइरहेको बताइएको छ।

पछिल्ला वर्षहरूमा एमजी मोटर नेपालले आफ्नो अफ्टर–सेल्स क्षमतामा लगानी बढाउँदै देशभर रहेका एमजी गाडीका ग्राहकलाई आवश्यक सेवा तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ। आवश्यक स्पेयर पार्ट्स, दक्ष प्राविधिक जनशक्ति र गुणस्तरीय सर्भिसको निरन्तर उपलब्धतालाई कम्पनीले प्राथमिकतामा राखेको छ।

एमजी मोटर नेपालका लागि प्रतिबद्धता गाडी बिक्रीमा मात्र सीमित नभएको कम्पनीको भनाइ छ। ग्राहकसँग दीर्घकालीन सम्बन्ध कायम गर्नुका साथै एमजीका विश्वव्यापी उत्पादन तथा प्रविधिलाई नेपाली बजारमा निरन्तर भित्र्याउनु आफ्नो प्राथमिकता रहेको कम्पनीले जनाएको छ।

एमजी मोटर नेपालका म्यानेजिङ डाइरेक्टर आकाश गोल्छाले एमजीसँगको ग्राहक सम्बन्धलाई दीर्घकालीन यात्राका रूपमा अघि बढाइरहेको बताए।

“एमजीको स्वामित्व एउटा यात्रा हो र त्यो यात्रालाई विश्वासका साथ निरन्तरता दिनु हाम्रो जिम्मेवारी हो। हामी प्रत्येक एमजी ग्राहकलाई निरन्तर सहयोग प्रदान गर्न प्रतिबद्ध छौँ। साथै, एमजीका अन्तर्राष्ट्रिय मोडल तथा नयाँ उत्पादनहरू नेपालमा ल्याउने कार्यलाई पनि निरन्तरता दिनेछौँ,” गोल्छाले भने।

कम्पनीका अनुसार पाँच वर्षपछि पनि नेपालमा एमजीको यात्रा निरन्तर छ। बलियो अफ्टर–सेल्स सेवा, अन्तर्राष्ट्रिय मोडल र आगामी दिनमा थप नयाँ उत्पादनसहित नेपाली बजारमा आफ्नो उपस्थिति थप विस्तार गर्ने कम्पनीको योजना रहेको छ।

प्रकाशित : 10 September, 2026 2:27 pm