बाढीले घरबारविहीन बनेका परिवारको सहारा बन्दै शुभकिरण सहकारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

बाढीले घरबारविहीन बनेका परिवारको सहारा बन्दै शुभकिरण सहकारी



काठमाडौं । माछापोखरीस्थित शुभकिरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित करिब एक सय परिवारलाई राहत सामग्री वितरण गरेको छ।

सहकारीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत त्रिशूली नदी आसपासका बाढी प्रभावित परिवारलाई लत्ताकपडा, खाद्यान्नलगायत अत्यावश्यक सामग्री वितरण गरेको हो।

सहकारी क्षेत्रमा नकारात्मक प्रभाव देखिएको अवस्थामा समेत २ हजार ५ सयभन्दा बढी सेयर सदस्यलाई सेवा दिँदै आएको संस्थाले मानवीय संकटका बेला सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिएको जनाएको छ।

संस्थाका प्रमुख कार्यकारी निर्देशक दिपेश खड्कीका अनुसार बाढीका कारण ठूलो जनधनको क्षति भई घरबारविहीन भएका नागरिकलाई सहयोग पुर्‍याउने उद्देश्यले सञ्चालक तथा मनकारी सेयरधनीबाट संकलित राहत सामग्री प्रभावित परिवारसम्म पुर्‍याइएको हो।

खड्कीले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ताको सकुशल खोजीको कामना गरे। उनले आगामी दिनमा पनि पीडितहरूको आवश्यकता पहिचान गरी राहत वितरणलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

बट्टार निवासी समाजसेवी रमेशराज भण्डारी र उनकी धर्मपत्नीको सहयोगमा वास्तविक पीडित परिवारको पहिचान गरी राहत सामग्री हस्तान्तरण गरिएको सहकारीले जनाएको छ। सहयोग वास्तविक पीडितसम्म पुगोस् भन्ने उद्देश्यले राहत टोलीले किरियापुत्री भवनमै पुगेर समेत सामग्री वितरण गरेको थियो।

राहत संकलन तथा वितरणमा सेयरधनी एवं व्यवसायीहरू ओम फ्रेश हाउस, मण्डली गुठी, मोस्टर कलेक्सन तथा व्यवसायी राज श्रेष्ठ र नारायण कृष्ण श्रेष्ठलगायतले सहयोग गरेका थिए।

राहत वितरण कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी निर्देशक दिपेश खड्की, सुभाष पोख्रेल, मुरारी कोइराला र जितेन्द्र शाही तथा ओम फ्रेश हाउसका राजु शाही, मोस्टर कलेक्सनका रघुनाथ केसी, मण्डली गुठीका प्रेम शाही र व्यवसायी राज श्रेष्ठको उपस्थिति थियो।

प्रकाशित : 7 September, 2026 3:09 pm