वाणिज्य बैंक बन्ने तयारीमा मुक्तिनाथ, दुई वित्तीय संस्था प्राप्ति गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

वाणिज्य बैंक बन्ने तयारीमा मुक्तिनाथ, दुई वित्तीय संस्था प्राप्ति गर्दै



काठमाडौं । मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई प्राप्ति (एक्विजिसन) गर्ने भएको छ। दुईवटै संस्थालाई प्राप्ति गर्ने विषयमा भदौ १९ गते संयुक्त रूपमा सम्झौता भएको हो। वाणिज्य बैंकमा स्तरोन्नति हुने लक्ष्यसहित नेपाल राष्ट्र बैंकमा निवेदन दिएको मुक्तिनाथ विकास बैंकले आफ्नो वित्तीय आकार विस्तार गर्ने क्रममा दुई वित्तीय संस्थालाई प्राप्ति गर्न लागेको हो।

प्राप्ति प्रक्रियाका लागि मुक्तिनाथ विकास बैंक, सिन्धु विकास बैंक र जानकी फाइनान्सबीच प्रारम्भिक सम्झौता भइसकेको छ। सम्झौतासँगै अब आवश्यक नियामकीय तथा अन्य प्रक्रिया अघि बढाइनेछ।

दुईवटा वित्तीय संस्था प्राप्ति गर्ने प्रक्रिया सुरु भएपछि सम्बन्धित संस्थाका आधारभूत शेयरधनीहरूको शेयर कारोबार रोक्का गरिएको छ। मर्जर तथा प्राप्तिको प्रक्रियामा शेयरको अनधिकृत कारोबार रोक्न नियामकीय व्यवस्थाअनुसार कारोबार रोक्का गर्ने गरिन्छ।

सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई प्राप्ति गरेपछि मुक्तिनाथ विकास बैंकको पूँजी, व्यवसायको आकार, ग्राहक संख्या तथा बजार पहुँच थप विस्तार हुनेछ। जसले गर्दा वाणिज्य बैंकमा स्तरोन्नति हुने मुक्तिनाथको योजनालाई समेत थप बल पुग्ने देखिन्छ।

प्रकाशित : 7 September, 2026 12:35 pm