नबिल बैंकका शेयरधनीलाई बोनससँगै नगद लाभांश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नबिल बैंकका शेयरधनीलाई बोनससँगै नगद लाभांश



काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरूलाई कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको आइतबार बसेको ७१२औँ बैठकले साधारण शेयरधनीका लागि ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावअनुसार बोनस शेयरका लागि १ अर्ब ३५ करोड २८ लाख ४९ हजार ८३६ रुपैयाँ ४६ पैसा र नगद लाभांशका लागि २ अर्ब ९२ करोड २१ लाख ५५ हजार ६४६ रुपैयाँ ७६ पैसा छुट्याइएको छ। उक्त रकममा बोनस तथा नगद लाभांशमा लाग्ने करसमेत समावेश छ।

यस्तै, बैंकले ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयरतर्फ चुक्ता पुँजीको ८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। अग्राधिकार शेयरधनीका लागि कुल २३ करोड ३४ लाख २४ हजार ६५७ रुपैयाँ ५३ पैसा नगद लाभांश प्रस्ताव गरिएको छ। उक्त रकममा करसमेत समावेश रहेको बैंकले जनाएको छ।

अग्राधिकार शेयरतर्फको लाभांश आर्थिक वर्ष २०८२/८३ मा बाँडफाँट हुने मितिबाट समानुपातिक रूपमा २१३ दिनका लागि गणना गरिनेछ।

हाल बैंकको अग्राधिकार शेयरतर्फको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ रहेको छ। त्यस्तै, साधारण शेयरतर्फ बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख ९६ हजार ७२९ रुपैयाँ २६ पैसा रहेको छ।

बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा हासिल गरेको सन्तोषजनक वित्तीय प्रदर्शन र दिगो व्यावसायिक वृद्धिलाई आधार बनाउँदै शेयरधनीलाई उचित प्रतिफल प्रदान गर्ने उद्देश्यले लाभांश प्रस्ताव गरिएको हो। प्रस्तावित लाभांश सम्बन्धित नियामक निकायको स्वीकृति तथा बैंकको आगामी साधारणसभाबाट पारित भएपछि मात्र वितरण हुनेछ।

प्रकाशित : 7 September, 2026 12:16 pm