भोटेकोशी बाढीपीडितका लागि शाइन रेसुङ्गा बैंकको ६५ लाख सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

भोटेकोशी बाढीपीडितका लागि शाइन रेसुङ्गा बैंकको ६५ लाख सहयोग



काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले ६५ लाख रुपैयाँ सहयोग गरेको छ।

बैंकले आफ्नो तर्फबाट ५५ लाख रुपैयाँ र कर्मचारीहरूको तर्फबाट १० लाख रुपैयाँ गरी कुल ६५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।

रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायत जिल्लामा बाढी तथा प्राकृतिक विपद्का कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको र नागरिकको जनजीवन प्रभावित भइरहेका बेला राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको बैंकले जनाएको छ।

विपद्को घडीमा प्रभावितको साथमा बैंक

बैंकले विपद्को कठिन अवस्थामा प्रभावित नागरिकको साथमा रहँदै खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सरकार र सम्बन्धित निकायलाई सहयोग गर्ने मानवीय अभियानमा ऐक्यबद्धता जनाएको छ।

बाढीमा परी ज्यान गुमाउने नागरिकप्रति बैंकले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, अझै सम्पर्कविहीन रहेका नागरिकको सकुशल उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

प्रकाशित : 31 August, 2026 5:41 pm