सहयोग रकम पठाउँदै हुनुहुन्छ ? पहिले क्युआर र खाता जाँच्नुहोस् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सहयोग रकम पठाउँदै हुनुहुन्छ ? पहिले क्युआर र खाता जाँच्नुहोस्



काठमाडौं। नेपाल राष्ट्र बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने क्रममा नक्कली बैंक खाता तथा QR  कोड प्रयोग गरी हुन सक्ने ठगीप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले बुधबार सूचना जारी गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा नक्कली QR कोड तथा बैंक खाता विवरण प्रयोग गरी अनधिकृत रूपमा रकम संकलन तथा ठगी भइरहेका घटना सार्वजनिक भएको जनाएको हो।

विपद्को समयमा कोषमा सहयोग गर्न चाहने व्यक्तिले रकम पठाउनुअघि विशेष सावधानी अपनाउन राष्ट्र बैंकले आग्रह गरेको छ।

राष्ट्र बैंकका अनुसार मोबाइल बैंकिङ, वालेट, कनेक्ट आईपीएसलगायत जुनसुकै माध्यमबाट रकम ट्रान्सफर गर्दा खाताको नाम ‘Prime Minister Disaster Relief Fund’ रहेको अनिवार्य रूपमा यकिन गर्नुपर्नेछ। रकम प्रविष्ट गर्दा पनि आफूले योगदान गर्न चाहेको रकम सही भए–नभएको पुनः जाँच गर्न राष्ट्र बैंकले अनुरोध गरेको छ।

त्यस्तै, कोषको बैंक खाता विवरण राष्ट्र बैंक, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अर्थ मन्त्रालयको वेबसाइटमा उल्लेखित आधिकारिक स्रोतबाट मात्र लिन भनिएको छ।

सामाजिक सञ्जाल, इमेल तथा विभिन्न मेसेजिङ एपमार्फत फैलिएका अनधिकृत QR कोड स्क्यान नगर्न पनि राष्ट्र बैंकले सचेत गराएको छ। सहयोग रकम पठाउन सहजीकरण गर्ने बहानामा कसैले मागेमा OTP, PIN, Password लगायतका संवेदनशील व्यक्तिगत विवरण उपलब्ध नगराउन पनि आग्रह गरिएको छ। राष्ट्र बैंकले रकम पठाउँदा आधिकारिक एप्लिकेसन तथा विश्वसनीय भुक्तानी माध्यमको प्रयोग गर्न समेत अनुरोध गरेको छ।

यदि आफू ठगीमा परेको आशंका भएमा तत्काल सम्बन्धित बैंक तथा वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकलाई जानकारी गराउन राष्ट्र बैंकले आग्रह गरेको छ। साथै, नेपाल प्रहरीको साइबर ब्युरो वा राष्ट्र बैंकको वित्तीय ग्राहक संरक्षण इकाईमा समेत जानकारी गराउन सकिने जनाएको छ।

राष्ट्र बैंकले विपद्को समयमा सहयोग गर्न चाहने नागरिकको रकम गलत व्यक्ति वा संस्थाको हातमा नपरोस् भन्ने उद्देश्यले यस्तो सावधानी अपनाउन आग्रह गरेको हो।

प्रकाशित : 31 August, 2026 3:39 pm