विपत्तिपछि नाडाको प्राथमिकता फेरियो, अटो शोभन्दा राहतमा ध्यान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

विपत्तिपछि नाडाको प्राथमिकता फेरियो, अटो शोभन्दा राहतमा ध्यान



काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०२६’ प्रभावित देखिएको छ । शो मा अपेक्षा गरेअनुसार अवलोकनकर्ताहरुको उपस्थिति देखिएको छैन् ।

भदौ ९ देखि १४ गतेसम्म नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) आयोजना गरेको शो अन्तर्गत शनिबार केही भीड देखिएपनि उद्घाटन समारोहपछिका दुई दिन विनाशकारी विपत्तिको असर देखिएको हो ।

शनिबार भने अवलोकनकर्ताको भीड बढेको ‘नाडा अटो शो २०२६’का संयोजक अनुप वरालले जानकारी दिए ।

‘अटो शो सुरु भएको पहिलो दिन एकदम राम्रो भयो, दोस्रो दिन देशमा ठूलो दुर्घटना घट्यो। त्यसले गर्दा अलिकति कम हुनु स्वाभाविक हो । किनभने प्रत्येक व्यक्तिको मन नै उजाडिएको बेला इभेन्टप्रति चासो हुँदैन नै । यसलाई स्वाभाविक पनि मान्नुपर्छ,’ संयोजक बरालले भने,‘यस्तो परिस्थितिमा हामीले पनि प्रायोरिटी सिफ्ट राहत संकलन, प्रभावित क्षेत्रमा कसरी सहयोग गर्न सकिन्छ भन्ने हिसाबले काम गर्यौं । टिम नै बाँडेर काम गरिरहेका छौं ।’

अटो शो को पहिलो दिन उल्लेख्य उपस्थिति रहेको, दोस्रो दिन कम भएको र तेस्रो दिन १२ बजेपछि फ्लो एकदमै राम्रो भएको छ । चौथो दिन पनि १ बजेपछि अवलोकनकर्ताहरुको उपस्थिति बढेको उनले जानकारी दिए ।

बाढी प्रभावित क्षेत्रमा नाडासँग आवद्ध सयौं कम्पनीका सवारी साधन तथा अटो सामग्रीहरु गुमेको, चालकहरु वेपत्ता भएको, ठूलो मात्रामा—स्पेयर पाट्र्सहरू आएका कन्टेनरहरू बेपत्ता भएको उनले जानकारी दिए ।

अटोमोबाइल क्षेत्रका लागि उत्तरतर्फको रसुवा नाका प्राथमिकता रहेको उल्लेख गर्दै उनले अब विकल्पहरु तत्काल खोज्न र सडकको पहिचान गरी ट्याक खोल्न पहल गर्नुपर्ने पनि बताए । 

अप्ठ्यारो परेको अवस्थामा पनि अर्थतन्त्र चलायमान गराउन सबै जुट्नुपर्ने बताउँदै बरालले सतर्कताका साथ अघि बढ्नुपर्ने पनि औंल्याए ।

‘यस्तो बेलामा अत्तालिएर होइन, गाली गरेर होइन, संयमित भएर सामूहिक रुपमा काम गर्नुपर्छ । घाइतेहरूको उद्धार, मृतकहरूको खोजी, डुबेका र हराएका बस्तुहरुको खोजी कार्य प्राथमिकतामा राख्नुपर्छ । व्यवसायीमा परेको मर्काका विषयमा पनि नाडाले गम्भीरताका साथ हेरेको छ,’ उनले भने ।

नाडा स्थापनाको ५० औं वर्ष पुगेको स्वर्ण जयन्तीको अवसरमा १८ औं संस्करणको यो अटो शो आयोजना गरिएको हो । शो भोलि १४ गते समापन हुँदैछ ।  

प्रकाशित : 29 August, 2026 9:26 pm