काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसले रसुवाको भोटेकोशी नदी क्षेत्रमा आएको आकस्मिक तथा विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि राहत कोष संकलन गर्ने भएको छ।
संगठनका अध्यक्ष योगेन्द्रकुमार कुँवरको अध्यक्षतामा भदौ ११ गते बसेको राष्ट्रिय समितिको आकस्मिक बैठकले बाढीपीडितको उद्धार तथा राहतका लागि विभिन्न समिति गठन गर्दै आर्थिक सहयोग संकलन गर्ने निर्णय गरेको हो।
महासचिव अजयकुमार राईका अनुसार बैठकले विपद् व्यवस्थापनका लागि उपाध्यक्ष राधिका कुइकेलको संयोजकत्वमा विपद् व्यवस्थापन समिति गठन गरेको छ। समितिले बाढीबाट भएको क्षतिको विवरण संकलन गर्नुका साथै उद्धार तथा राहत कार्यमा समन्वय गर्नेछ।
त्यस्तै, उपमहासचिव जनार्दन भट्टराईको संयोजकत्वमा विपद् व्यवस्थापन उपसमिति गठन गरी बाढी प्रभावितको उद्धारमा सहयोग गर्ने निर्णय गरिएको छ। कोषाध्यक्ष सञ्जयकुमार दाहालको संयोजकत्वमा आर्थिक उपसमिति गठन गरी बाढीपीडितका लागि आर्थिक सहयोग संकलन गर्ने र उक्त रकम नेपाल सरकारको राहत कोषमा जम्मा गर्ने निर्णय भएको राईले जानकारी दिए।
ट्रेड युनियन कांग्रेसले केन्द्रीय प्रणालीमार्फत राहत रकम संकलन गर्ने भएको छ। जसअनुसार पदाधिकारीले प्रतिव्यक्ति ५ हजार रुपैयाँ, केन्द्रीय समिति सदस्यले २ हजार रुपैयाँ तथा प्रत्येक प्रदेश समिति, आबद्ध संघ र जिल्ला समितिले प्रतिव्यक्ति १ रुपैयाँका दरले सहयोग गर्ने निर्णय गरिएको छ।
बैठकले बाढीमा बेपत्ता भएका नागरिक तथा श्रमिकको खोजी र उद्धारलाई उच्च प्राथमिकताका साथ प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ। साथै प्रभावित क्षेत्रमा तत्काल खाद्यान्न, खानेपानी, औषधि, अस्थायी आवास, कपडालगायत अत्यावश्यक राहत सामग्री उपलब्ध गराउन आग्रह गरेको छ।
बाढी प्रभावित श्रमिक तथा उनीहरूका परिवारलाई तत्काल राहत उपलब्ध गराउँदै रोजगारी, पारिश्रमिक, सामाजिक सुरक्षा तथा अन्य श्रम अधिकारको संरक्षण गर्न पनि सरकारसँग माग गरिएको छ।
त्यस्तै, बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएका नागरिक र श्रमिकका परिवारलाई उचित राहत, क्षतिपूर्ति तथा आवश्यक सामाजिक सुरक्षा तत्काल उपलब्ध गराउन ट्रेड युनियन कांग्रेसले माग गरेको छ।
उच्च जोखिमयुक्त क्षेत्रमा कार्यरत श्रमिकको सुरक्षाका लागि पूर्वसूचना प्रणाली, सुरक्षित कार्यस्थल, उद्धार संयन्त्र तथा विपद् व्यवस्थापन प्रणालीलाई थप सुदृढ बनाउनुपर्ने मागसमेत संगठनले अघि सारेको छ।
राष्ट्रिय विपद्को यस घडीमा सरकार, स्थानीय तह, सामाजिक साझेदार, श्रमिक संगठन तथा आम नागरिकसँग सहकार्य गर्दै उद्धार, राहत र पुनःस्थापनाका लागि आवश्यक सहयोग गर्न ट्रेड युनियन कांग्रेस प्रतिबद्ध रहेको महासचिव राईले बताएका छन्।





Comment