काठमाडौं। नेपाल बैंकर्स संघ (एनबीए)ले बुधबार रसुवामा आएको बाढीपछि नुवाकोट, धादिङलगायत प्रभावित क्षेत्रमा कार्यरत अधिकांश बैंक कर्मचारी सुरक्षित रहेको जनाएको छ। संघले बाढी तथा प्राकृतिक विपद्का कारण भएको मानवीय क्षति, जनधन तथा भौतिक संरचनामा पुगेको क्षतिप्रति नेपाल बैंकर्स संघ गहिरो दुःख व्यक्त गर्दै विपदमा ज्यान गुमाएका सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ।
बाढी प्रभावित जिल्लामा कार्यरत अधिकांश बैंक कर्मचारी सुरक्षित रहेको जानकारी प्राप्त भएको र केहीसँग हालसम्म सम्पर्क स्थापित हुन नसकेको संघले बताएको छ। बाढी तथा डुबानका कारण प्रभावित जिल्लामा बैंकका केही शाखासमेत प्रभावित भएका छन्। साथै, विद्युत, इन्टरनेट तथा सञ्चार सेवामा आएको अवरोधका कारण प्रभावित जिल्लामा नियमित बैंकिङ्ग सेवा सञ्चालनमा समेत चुनौती देखिएको संघको भनाइ छ।
यद्यपि, बैंकहरूले उपलब्ध स्रोत–साधन र वैकल्पिक व्यवस्थाको अधिकतम उपयोग गर्दै सेवा निरन्तरता कायम गर्न तथा प्रभावित सेवाग्राहीलाई आवश्यक सहयोग उपलब्ध गराउन हरसम्भव प्रयास गरिरहेको संघको भनाइ छ।
संघले विपद् घडीमा सरकार, नेपाल राष्ट्र बैंक तथा सम्बन्धित सरोकारवाला निकायसँग आवश्यक समन्वय र सहकार्य गर्दै अगाडि बढेको जनाएको छ। नेपालको बैंकिङ क्षेत्र कठिन परिस्थितिमा नेपाल सरकारको राहत, उद्धार तथा पुनस्र्थापना प्रयासमा साथ दिन पूर्ण रूपमा प्रतिबद्ध रहेको संघबाट जारी विज्ञप्तिमा उल्लेख छ।


Comment