काठमाडौं । नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो केवल नयाँ गाडी र प्रविधि प्रदर्शन गर्ने थलोमा सीमित छैन। यसले अटोमोबाइल उद्योगको अवस्था, उपभोक्ताको बदलिँदो रुचि र आगामी दिनको दिशासमेत संकेत गर्दै आएको छ। यही सन्देशलाई अझ फराकिलो बनाउँदै नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा) ले आफ्नो ५०औँ स्थापना वर्षको अवसर पारेर १८औँ नाडा अटो शो २०२६ आयोजना गर्दैछ।
भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने अटो शोमा २०० भन्दा बढी स्टल रहनेछन्। करिब ३ लाख वर्गफिट क्षेत्रमा सञ्चालन हुने प्रदर्शनीमा २३ ब्रान्डका प्यासेन्जर कार, १७ ब्रान्डका लाइट कमर्सियल भेइकल, १३ ब्रान्डका दुईपाङ्ग्रे सवारीसाधन, ७० वटा अटोमोबाइल पार्टपुर्जा तथा उत्पादनका स्टल र १० वटा वित्तीय तथा बीमा संस्थाको सहभागिता रहनेछ।
तर यसपटक नाडाले अटो शोको दायरा गाडी प्रदर्शनमा मात्र सीमित राखेको छैन। रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डिजिटल प्रविधि र स्वदेशी उत्पादनलाई समेत प्रदर्शनीको महत्वपूर्ण हिस्साका रूपमा अघि सारिएको छ।
नाडाका महासचिव मिलन बाबु मल्लका अनुसार ५०औँ स्थापना वर्षको अवसरमा आयोजना हुन लागेको यस संस्करणले नाडाको पाँच दशकको यात्रा र आगामी दिनको अटोमोबाइल उद्योगबीचको सम्बन्ध देखाउने प्रयास गर्नेछ।
अब अटो शो गाडी हेर्ने ठाउँ मात्र रहेन
अटोमोबाइल क्षेत्र अहिले तीव्र परिवर्तनको चरणमा रहेको मल्ल बताउँछन्। पेट्रोल तथा डिजेलबाट विद्युतीय सवारीसाधनतर्फ भइरहेको संक्रमणसँगै सवारीसाधनमा एआई, कनेक्टिभिटी र अटोमेसनको प्रयोगसमेत बढ्दै गएको छ।
“अहिले अटोमोबाइल भनेको गाडी मात्र होइन। यो प्रविधि, मोबिलिटी, रोजगारी, वित्तीय सेवा र उद्योगसँग जोडिएको ठूलो इकोसिस्टम हो। त्यसैले अटो शोमा पनि त्यही परिवर्तन देखिनुपर्छ भन्ने हाम्रो सोच हो,” मल्ल भन्छन्।
यही अवधारणाअनुसार यसपटक अटो शोमा दर्शकले ‘जीआई ह्युमनोइड’ र ‘जीओ–२ क्वाड्रुपेड’ रोबोट प्रत्यक्ष अवलोकन गर्न पाउनेछन्। त्यस्तै, प्रदर्शनीमा राखिएका सवारीसाधनमा उपलब्ध क्युआर कोड स्क्यान गरेर एआई प्रविधिको माध्यमबाट सम्बन्धित गाडीको विवरण डिजिटल रूपमा प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ।
मल्लका अनुसार प्रविधिलाई केवल प्रदर्शनीको आकर्षणका रूपमा नभई दर्शकको अनुभव सहज बनाउने माध्यमका रूपमा प्रयोग गर्न खोजिएको हो।
“हामीले दर्शकलाई गाडी देखाएर मात्र पठाउन चाहेका छैनौँ। उसले गाडीबारे बुझोस्, तुलना गरोस् र प्रविधिले भविष्यमा हाम्रो मोबिलिटीलाई कहाँ लैजाँदैछ भन्ने अनुभव गरोस् भन्ने हो,” उनी भन्छन्।
‘मेड इन नेपाल’लाई छुट्टै पहिचान
यस वर्षको अटो शोको अर्को महत्वपूर्ण पक्ष ‘मेड इन नेपाल एन्ड मेड फर नेपाल’ प्याभिलियन हो। अटो शोको इतिहासमै पहिलोपटक छुट्टै प्याभिलियनमार्फत नेपालमै उत्पादन तथा एसेम्बल भएका सवारीसाधन र अटोमोबाइल सामग्रीलाई प्राथमिकताका साथ प्रदर्शन गरिँदैछ।
प्याभिलियनमा नेपालमै बनेका मोटरसाइकल, स्वदेशमा एसेम्बल भएका स्कुटर तथा बाइकसँगै टायर, लुब्रिकेन्ट, ब्याट्री, हेल्मेट र स्पेयर पार्ट्ससमेत प्रदर्शन गरिनेछ।
मल्लका लागि यो केवल एउटा छुट्टै प्याभिलियन मात्र नभई नेपाली उद्योगप्रतिको धारणा परिवर्तन गर्ने प्रयास पनि हो।
“नेपालमा उत्पादन सम्भव छैन भन्ने सोचलाई हामीले विस्तारै बदल्नुपर्छ। स्वदेशमा उद्योग बस्यो भने त्यसले रोजगारी सिर्जना गर्छ, सीप विकास गर्छ र अर्थतन्त्रमा मूल्य थप्छ। त्यसैले ‘मेड इन नेपाल’लाई अटो शोमा छुट्टै स्थान दिनु हाम्रो प्राथमिकता हो,” उनी भन्छन्।
अटो शोको मूल नारा पनि ‘उद्योगदेखि रोजगारसम्म’ राखिएको छ। नाडाका अनुसार अटोमोबाइल क्षेत्रले कुल भन्सार राजस्वमा करिब १८ प्रतिशत र समग्र राष्ट्रिय राजस्वमा २२ देखि २५ प्रतिशतसम्म योगदान गर्दै आएको छ। यस क्षेत्रमा प्रत्यक्ष रूपमा करिब १ लाख र अप्रत्यक्ष रूपमा करिब १० लाख मानिसको रोजगारी जोडिएको नाडाको दाबी छ।
मल्लका अनुसार यही तथ्यले अटोमोबाइल क्षेत्रलाई केवल सवारीसाधन आयात र बिक्रीको व्यवसायका रूपमा बुझ्न नहुने देखाउँछ।
“अटोमोबाइल क्षेत्रसँग जोडिएको रोजगारी र राजस्वलाई हेर्दा यो अर्थतन्त्रको महत्वपूर्ण हिस्सा हो। त्यसैले उद्योगलाई दीर्घकालीन रूपमा बलियो बनाउन नीति, लगानी, पूर्वाधार र प्रविधि सबै पक्षमा सँगसँगै काम गर्नुपर्छ,” उनी भन्छन्।
ईभीसँगै नीतिगत बहस
यसपटकको अटो शोमा विद्युतीय सवारीसाधन (ईभी) को उपस्थिति उल्लेख्य रहनेछ। विभिन्न ब्रान्डले नयाँ ईभी मोडल सार्वजनिक गर्ने तयारी गरेका छन्।
स्मार्ट मोबिलिटी, दिगो यातायात र कनेक्टिभिटीका विषयमा सिम्पोजियमसमेत आयोजना गरिनेछ। ईभीको बजार विस्तारसँगै चार्जिङ पूर्वाधार, प्राविधिक जनशक्ति, सर्भिस नेटवर्क र स्थिर नीतिको आवश्यकता पनि बढ्दै गएको मल्ल बताउँछन्।
“ईभी बिक्री बढ्नु मात्रै पर्याप्त हुँदैन। त्यससँगै चार्जिङ पूर्वाधार, दक्ष जनशक्ति, सर्भिस र नीतिगत स्थिरता पनि चाहिन्छ। अबको बहस यही समग्र प्रणाली कसरी बलियो बनाउने भन्नेमा हुनुपर्छ,” उनी भन्छन्।
२ लाख आगन्तुक भित्र्याउने लक्ष्य
६ दिनसम्म चल्ने प्रदर्शनीमा करिब २ लाख आगन्तुक आउने आयोजकको अपेक्षा छ। भीड व्यवस्थापनलाई ध्यान दिँदै नेपाल पुलिस क्लब, नेसनल ट्रेडिङ, सुन्धारा, सञ्चय कोष भवन, पुरानो बसपार्कलगायतका स्थानमा पार्किङको व्यवस्था गरिनेछ।
बाहिरी पार्किङस्थलबाट भृकुटीमण्डपसम्म निःशुल्क सटल बस सञ्चालन गरिनेछ। प्रदर्शनीस्थलमा सीसीटीभी निगरानी, ह्विलचेयर सुविधा, आपत्कालीन स्वास्थ्य टोली तथा ट्राफिक सूचना डेस्कको व्यवस्था पनि गरिने आयोजकले जनाएको छ।
अटो शोको आधिकारिक टिकटिङ पार्टनर खल्तीमार्फत अग्रिम टिकट बुक गर्दा ५० प्रतिशतसम्म क्यासब्याकको व्यवस्था गरिएको आयोजकको भनाइ छ।
५० वर्षको यात्राबाट आगामी बाटोतर्फ
नाडाको ५०औँ स्थापना वर्षमा आयोजना हुन लागेको १८औँ अटो शोको उद्देश्य सफल प्रदर्शनी आयोजना गर्नुमा मात्र सीमित नरहेको महासचिव मल्ल बताउँछन्। उनका अनुसार पाँच दशकको यात्राबाट प्राप्त अनुभवका आधारमा अब नेपाली अटोमोबाइल उद्योगलाई कुन दिशामा लैजाने भन्ने विषयमा समेत बहस आवश्यक छ।
“हाम्रो लक्ष्य एउटा सफल अटो शो गर्नु मात्र होइन। ५० वर्षमा नाडाले जहाँसम्म यात्रा गरेको छ, त्यसबाट अब नेपाली अटोमोबाइल उद्योगलाई कहाँ लैजाने भन्ने बहस पनि सुरु गर्नुपर्छ। उद्योग बलियो भयो भने व्यवसायसँगै रोजगारी र अर्थतन्त्र पनि बलियो हुन्छ,” उनी भन्छन्।
भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा हुने १८औँ नाडा अटो शोमा त्यसैले नयाँ गाडी र प्रविधि मात्र देखिने छैनन्। नेपाली अटोमोबाइल उद्योगको वर्तमान अवस्था, स्वदेशी उत्पादनको सम्भावना, विद्युतीय सवारीसाधनको बढ्दो प्रभाव र आगामी यात्राको एउटा चित्रसमेत प्रस्तुत हुनेछ


Comment