वर्ल्डलिङ्कको ‘माई वर्ल्डलिङ्क’ फ्रि वाई–फाई बन्द, सर्वसाधारणका लागि अर्को सेवा यथावत् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

वर्ल्डलिङ्कको ‘माई वर्ल्डलिङ्क’ फ्रि वाई–फाई बन्द, सर्वसाधारणका लागि अर्को सेवा यथावत्



काठमाडौं । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्क कम्युनिकेसन्सले आफ्ना ग्राहकलाई उपलब्ध गराउँदै आएको ‘माई वर्ल्डलिङ्क’ फ्रि वाई–फाई सेवा बन्द गरेको छ। नियामक नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनपछि कम्पनीले ग्राहकका लागि सञ्चालन गर्दै आएको उक्त सुविधा स्थगित गरेको हो।

यसअघि वर्ल्डलिङ्कका नियमित ग्राहकले ‘माई वर्ल्डलिङ्क’ एपमार्फत देशका विभिन्न सार्वजनिक स्थानमा रहेका हट्सपटमा सहजै तथा स्वतः निःशुल्क इन्टरनेट प्रयोग गर्न पाउँदै आएका थिए। तर प्राधिकरणको पछिल्लो निर्देशनपछि कम्पनीले यो सुविधा बन्द गरेको जनाएको छ।

यद्यपि, ‘माई वर्ल्डलिङ्क’ सेवा बन्द भए पनि वर्ल्डलिङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सञ्चालन गर्दै आएको ‘Free_WorldLink_Wi-Fi’ सेवा भने निरन्तर रहने जनाएको छ।

उक्त सेवा प्रयोग गर्न वर्ल्डलिङ्ककै ग्राहक हुनुपर्ने बाध्यता छैन। सार्वजनिक स्थानमा उपलब्ध ‘Free_WorldLink_Wi-Fi’ मा जोकोहीले पनि निःशुल्क इन्टरनेट प्रयोग गर्न सक्नेछन्।

यसका लागि प्रयोगकर्ताले सार्वजनिक स्थानमा उपलब्ध ‘Free_WorldLink_Wi-Fi’ नेटवर्कमा कनेक्ट गर्नुपर्नेछ। त्यसपछि खुल्ने ‘क्याप्टिभ पोर्टल’ मार्फत लगइन गर्न सकिनेछ।

इन्टरनेट प्रयोग गर्ने क्रममा प्रत्येक नयाँ हट्सपटमा प्रयोगकर्ताले आफ्नो मोबाइल नम्बर प्रविष्ट गर्नुपर्नेछ। मोबाइल नम्बरमा प्राप्त हुने युनिक लगइन कोड प्रयोग गरी साइन–अप वा लगइन गरेपछि निःशुल्क वाई–फाई सेवा प्रयोग गर्न सकिनेछ।

यससँगै वर्ल्डलिङ्कका ग्राहकले मात्र पाउँदै आएको ‘माई वर्ल्डलिङ्क’ एपमा आधारित फ्रि वाई–फाई सुविधा भने अब उपलब्ध नहुने भएको छ।

प्रकाशित : 20 August, 2026 10:19 am