काठमाडौं । नेपालका लागि डोङफेङ नामीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि मोटर्सले नयाँ इलेक्ट्रीक एसयूभी ‘नामी भिगो ई २’ नेपाली बजारमा बिक्री सुरू गरेको छ । एमएडब्लू वृद्धि ग्रुपका अध्यक्ष विष्णु अग्रवालले भिगो ई-२ लाई कम्प्याक्ट कारभन्दा माथि र पारिवारिक प्रयोजनका लागि उपयुक्त हुने गरी ‘फुल एसयूभी’ को रूपमा बजारमा ल्याइएको बताए ।
अग्रवालले नयाँ बजेटमार्फत सरकारले ड्युटी संरचनामा हेरफेर गरेपनि कम्पनीले त्यसको लाभ सिधैं ग्राहकलाई पुर्याउने उद्देश्यले विशेष मूल्य निर्धारण गरेको बताए । ‘हाम्रो टोलीबीच ड्युटी हेरफेरबाट आएको भिन्नतालाई कम्पनीको नाफामा राख्ने कि ग्राहकलाई हस्तान्तरण गर्ने भन्ने छलफल भएको थियो । तर हाम्रा मूल्य मान्यता अनुसार हामीले सधैं ग्राहकलाई नै प्राथमिकता दियौँ र विशेष मूल्यमा यो गाडी बजारमा ल्याएका हौं,’ अग्रवालले भने ।
नामी भिगो ई-२ ले नेपालको चुनौतीपूर्ण भूगोलमा आफ्नो सक्षमता प्रमाणित गरिसकेको अग्रवालले दाबी गरे ।उनका अनुसार मनाङ, मुस्ताङ, सोलुखुम्बु र शुक्लाफाँटा जस्ता विकट क्षेत्रमा यो गाडी पुगिसकेको छ । सन् १९६४ मा विराटनगरको एउटा सानो वर्कसपबाट सुरु भएको एमएडब्लुको यात्रा अहिले नेपालको सबैभन्दा ठुलो अटोमोबाइल समूह बन्न सफल भएको छ ।
डोङ्फेङ नामी अहिले नेपालमा दोस्रो ठुलो चिनियाँ ईभीआयातकर्ता ब्रान्ड बनेको छ, जसका देशभर २ हजारभन्दा बढी सन्तुष्ट ग्राहक छन् । विश्वभर ब्याट्रीको अभाव र उच्च मागका कारण गाडी आपूर्तिमा केही समस्या रहे पनि नेपालमा ईभीको प्रयोग ८५ प्रतिशत पुगिसकेको अग्रवालले जानकारी दिए ।
कम्पनीले नाडा अटो शोलाई लक्षित गर्दै यसको सुरुवाती मूल्य ३५ लाख ९९ हजार रुपैयाँ तोकेको छ । अटो शोको अवधि सकिएपछि भने यसको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ कायम हुनेछ ।
यसअघि उपलब्ध बेस भेरियन्टभन्दा यो ५ लाख रुपैयाँ सस्तो हो । कम्पनीले भिगोमा रहेको मुनरुफ हटाएर यो नयाँ संस्करण ल्याएकाले मूल्य केही सस्तिएको भए पनि अन्य सम्पूर्ण फिचरहरू यथावत राखिएका छन् ।
नामी भिगो एसयूभी ४४.९४ किलोवाट आवर र ५१.८७ किलोवाट आवर गरी दुई ब्याट्री अप्सनमा उपलब्ध छ । जसले डब्लूएलटीपी अनुसार क्रमशः ३०० र ३५० किलोमिटरसम्मको रेन्ज दिन्छ ।
१६७ किलोवाटको डीसी फास्ट चार्जर सपोर्ट गर्ने यस गाडीमा न्याभ, रेस्ट र स्नो मोडसहितको एसीका साथै भ्वाइस कन्ट्रोल, १२.८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ८.८ इन्चको डिजिटल डिस्प्ले र ३६० डिग्री क्यामेरा दिइएको छ ।
यसका साथै ५० वाटको वायरलेस चार्जर, वान टच रियर सिट फोल्ड र अगाडिका सिटहरूलाई पूर्ण रूपमा बेड बनाउन सकिने सुविधा पनि यसमा समावेश छ ।
सुरक्षा र सुविधाका हिसाबले यो सेग्मेन्टमै उत्कृष्ट रहेको कम्पनीको दाबी छ । गाडीमा वेलकम र मेमोरी सिट, एम्बियन्ट लाइट, हेभन एण्ड अर्थ टेलगेट, बाहिरी स्पीकर, एडास लेभल टु, हिटेड र भेन्टिलेटेड ड्राइभर सिट, १८ इन्चको ह्वील र ३५ भन्दा बढी स्थानमा स्टोरेज स्पेस दिइएको छ ।
त्यसैगरी, ६ वटा एयरब्याग, अटोहोल्ड, हिल होल्ड, डिसेन्ट कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल जस्ता सुरक्षा फिचरका साथै इको, स्ट्यान्डर्ड र स्पोर्ट गरी तीन वटा ड्राइभिङ मोड र तीन वटै स्टेरिङ मोड उपलब्ध गराइएको छ ।


Comment