नेफ्स्कूनको ३९औँ स्थापना दिवसमा विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेफ्स्कूनको ३९औँ स्थापना दिवसमा विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान



काठमाडौँ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बचत तथा ऋण सहकारी अभियानमा उच्च योगदान पुर्‍याएका विभिन्न व्यक्ति तथा संस्थालाई नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले सम्मान तथा पुरस्कार प्रदान गरेको छ।

नेफ्स्कूनको ३९औँ स्थापना दिवसको अवसरमा २०८३ साउन ३१ गते आयोजित कार्यक्रममा विभिन्न विधामा योगदान पुर्‍याउने व्यक्ति, जिल्ला बचत तथा ऋण सहकारी संघ, प्रदेशस्तरीय संघ तथा उत्कृष्ट सहकारी संस्थालाई सम्मान गरिएको हो।

नेफ्स्कूनले जीवनपर्यन्त योगदान, संस्थापक अध्यक्ष, नेफ्स्कून/एएफआई क्रेडिट युनियन पुरस्कार, विद्वता सम्मान तथा अग्रज व्यक्तित्व सम्मानलगायत विभिन्न विधामा सम्मान प्रदान गरेको छ। त्यस्तै, उत्कृष्ट संघ, उत्कृष्ट संस्था, उत्कृष्ट व्यवस्थापक, उत्कृष्ट कर्मचारी तथा पत्रकारितातर्फ पनि पुरस्कार प्रदान गरिएको छ।

कार्यक्रममा प्रदेशस्तरीय उत्कृष्ट संस्था तथा व्यवस्थापकलाई समेत सम्मान गरिएको छ। प्रदेशस्तरीय उत्कृष्ट संस्थातर्फ गोरखा साकोस, पान्डपोखरी साकोस, सुरक्षित साकोस, पेरिसी साकोस, किसान कल्याण साकोस, शुभ साकोस र कञ्चन कल्याणकारी साकोस लगायतलाई सम्मान गरिएको छ।

त्यसैगरी, प्रदेशस्तरीय उत्कृष्ट व्यवस्थापक पुरस्कारबाट विभिन्न प्रदेशका व्यवस्थापकहरू सम्मानित भएका छन्। नेफ्स्कूनले उत्कृष्ट सेवा सदस्यलाई प्रशिक्षणतर्फ पनि सम्मान प्रदान गरेको छ।

कार्यक्रममा WOCCU Digital Growth Award–2026 Honor अन्तर्गत चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई सम्मान गरिएको छ।
नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा नेफ्स्कून परिवारले स्थापना दिवसको अवसरमा सम्मानित संघ, संस्था तथा व्यक्तिहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

नेफ्स्कूनले बचत तथा ऋण सहकारी अभियानलाई थप व्यवस्थित, जिम्मेवार र प्रभावकारी बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकारी अभियानमा योगदान पुर्‍याउने उद्देश्यसहित विभिन्न व्यक्ति तथा संस्थालाई प्रोत्साहनस्वरूप सम्मान गर्दै आएको जनाएको छ।

प्रकाशित : 16 August, 2026 11:31 am