ठूलो ब्याट्री, नयाँ डिजाइन र थप फिचरसहित आयो टाटा पन्च ईभी फेसलिफ्ट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

ठूलो ब्याट्री, नयाँ डिजाइन र थप फिचरसहित आयो टाटा पन्च ईभी फेसलिफ्ट



काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नयाँ पन्च ईभी फेसलिफ्ट नेपाली बजारमा सार्वजनिक गरेको छ। राजधानीको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको नाईमा मोबिलिटी एक्स्पो २०२६ को अवसर पारेर कम्पनीले नयाँ मोडल सार्वजनिक गरेको हो।

नाईमा एक्स्पो विशेष अफरअन्तर्गत ग्राहकले नयाँ पन्च ईभी फेसलिफ्ट ३२ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।

नयाँ पन्च ईभीमा अघिल्लो संस्करणको तुलनामा ठूलो क्षमताको ब्याट्री प्रयोग गरिएको छ। यसमा ३० किलोवाट आवर र ४० किलोवाट आवर क्षमताका दुई ब्याट्री विकल्प उपलब्ध छन्। दुवै ब्याट्री अघिल्लो मोडलको तुलनामा ५ किलोवाट आवर बढी क्षमताका हुन्। ठूलो ब्याट्रीका कारण गाडीको एकपटक चार्जमा तय गर्न सक्ने दूरीसमेत बढेको कम्पनीको भनाइ छ।

चार्जिङ क्षमतातर्फ ६५ किलोवाट क्षमताको डीसी फास्ट चार्जर प्रयोग गर्दा ब्याट्रीलाई २० प्रतिशतबाट ८० प्रतिशतसम्म करिब २६ मिनेटमा चार्ज गर्न सकिने कम्पनीले जनाएको छ। त्यस्तै, १५ मिनेट चार्ज गर्दा करिब १३५ किलोमिटरसम्म चलाउन पुग्ने ऊर्जा प्राप्त हुने दाबी गरिएको छ।

डिजाइनमा समेत केही परिवर्तन गरिएको छ। नयाँ पन्च ईभीमा १६ इन्चका एरो–अप्टिमाइज्ड एलोय ह्वील तथा नयाँ डिजाइनका एलईडी टेललाइट राखिएका छन्। एरो–अप्टिमाइज्ड ह्वीलले हावाको प्रतिरोध कम गर्न सहयोग गर्ने कम्पनीको भनाइ छ।

गाडीको भित्री डिजाइनमा अघिल्लो ड्यासबोर्डलाई निरन्तरता दिइए पनि नयाँ ट्रिम र डुअल–टोन कलर थिम थपिएको छ। यसमा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र समान आकारको डिजिटल ड्राइभर डिस्प्ले उपलब्ध छ।

सुविधातर्फ नयाँ पन्च ईभीमा वायरलेस चार्जिङ, भेन्टिलेटेड सिट, एम्बियन्ट लाइट, कनेक्टेड कार टेक्नोलोजी र ३६० डिग्री क्यामेरा जस्ता फिचर समावेश गरिएको छ।

सुरक्षाका लागि ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, हिल होल्ड असिस्ट, टायर प्रेसर मोनिटरिङ सिस्टम र आईएसओफिक्स चाइल्ड सिट माउन्ट उपलब्ध छन्।

यसअघि नेपाली बजारमा उपलब्ध पन्च ईभीको मूल्य ३७ लाख ९९ हजारदेखि ३९ लाख ९९ हजार रुपैयाँसम्म थियो। नयाँ फेसलिफ्ट मोडलमा दिइएको इन्ट्रडक्टरी अफरका कारण यसको मूल्य अघिल्लो मोडलको तुलनामा चार लाख रुपैयाँसम्म कम भएको छ।

सिप्रदी ट्रेडिङका अनुसार भृकुटीमण्डपमा जारी नाईमा मोबिलिटी एक्स्पोमा ग्राहकले नयाँ पन्च ईभी फेसलिफ्टको अवलोकन गर्नुका साथै यसको फिचर र मूल्यबारे थप जानकारी लिन सक्नेछन्।

प्रकाशित : 11 August, 2026 3:25 pm