काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचीकृत कम्पनीहरूलाई आर्थिक वर्ष २०८३/८४ को धितोपत्रको वार्षिक नवीकरण शुल्क असोज मसान्तभित्र अनिवार्य रूपमा बुझाउन आग्रह गरेको छ।
बिहीबार जारी सूचनामा नेप्सेले तोकिएको समयभित्र नवीकरण शुल्क नतिरे वार्षिक १० प्रतिशतका दरले जरिवाना लाग्ने जनाएको छ। साथै, धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम १६ बमोजिम सम्बन्धित कम्पनीको सूचीकरणसमेत स्थगन हुन सक्ने चेतावनी दिएको छ।
कति छ नवीकरण शुल्क?
नेप्सेका अनुसार चुक्तापुँजीका आधारमा नवीकरण शुल्क निर्धारण गरिएको छ। ५० करोड रुपैयाँसम्म चुक्तापुँजी भएका सूचीकृत कम्पनीले वार्षिक ५० हजार रुपैयाँ बुझाउनुपर्नेछ भने ५० करोड रुपैयाँभन्दा बढी चुक्तापुँजी भएका कम्पनीले १ लाख रुपैयाँ तिर्नुपर्ने व्यवस्था छ।
यस्तै, डिबेन्चर तथा म्युचुअल फन्डका हकमा ५० करोड रुपैयाँसम्म चुक्तापुँजी भए २५ हजार रुपैयाँ र सोभन्दा बढी चुक्तापुँजी भए ५० हजार रुपैयाँ नवीकरण शुल्क लाग्ने नेप्सेले जनाएको छ। नेप्सेले सबै सूचीकृत कम्पनीलाई समयमै शुल्क बुझाई सूचीकरणसम्बन्धी दायित्व पूरा गर्न आग्रह गरेको छ।


Comment