ज्योति विकास बैंकले नेपालपे कार्ड सेवा सुरु गर्ने, एनसीएचएलसँग सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ज्योति विकास बैंकले नेपालपे कार्ड सेवा सुरु गर्ने, एनसीएचएलसँग सम्झौता



काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)सँग इएफटी कार्ड स्वीचमार्फत नेपालपे कार्डको भुक्तानी सेवा सञ्चालन गर्न सम्झौता गरेको छ। बुधबार आयोजित कार्यक्रममा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौतापछि बैंकले आफ्ना ग्राहकका लागि नेपालपे कार्ड जारी गर्न सक्नेछ। साथै, डिस्कभर नेटवर्कअन्तर्गतका अन्तर्राष्ट्रिय कार्ड र रुपे कार्डसमेत स्वीकार गर्दै नेपालपे कार्डका कारोबार प्रोसेस गर्न सक्ने व्यवस्था हुनेछ। एनसीएचएलका अनुसार, नेशनल कार्ड स्वीचसँग इएफटी कार्ड स्वीचको एकीकरण भइसकेपछि नेपालपे कार्ड नेपालभित्र मात्र नभई विदेशमा रहेका एटीएम र पीओएस टर्मिनलमा पनि प्रयोग गर्न सकिने भएको छ। डिस्कभर नेटवर्कसँगको सहकार्यपछि नेपालपे कार्डको अन्तर्राष्ट्रिय प्रयोगसमेत सम्भव भएको हो।

हाल इएफटी सेवामार्फत ११ वटा बैंक तथा वित्तीय संस्थाले विभिन्न अन्तर्राष्ट्रिय कार्ड स्किमका कारोबार प्रोसेस गर्दै आएका छन्। नेपालपे कार्डको सेवा विस्तार गर्ने तयारीमा अन्य सदस्य बैंक तथा वित्तीय संस्था पनि रहेका छन्। एनसीएचएलका अनुसार हालसम्म ३६ भन्दा बढी बैंक तथा वित्तीय संस्था नेपालपे प्रणालीमा आबद्ध भइसकेका छन्। तीमध्ये आठ बैंक तथा वित्तीय संस्थाले नेपालपे कार्ड जारी गर्न सुरु गरिसकेका छन् भने ११ भन्दा बढीले कार्ड अक्वायरिङ सेवा सञ्चालनमा ल्याइसकेका छन्।

ज्योति विकास बैंकले हाल १० लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ। बैंकले देशभर १२१ शाखा, दुई एक्सटेन्सन काउन्टर र ७५ एटीएममार्फत सेवा प्रदान गर्दै आएको तथा डिजिटल बैंकिङ सेवाको विस्तारलाई प्राथमिकतामा राखेको जनाएको छ।

प्रकाशित : 6 August, 2026 1:01 pm