काठमाडौं । सुपर मादी हाईड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म उल्लेखनीय वित्तीय सुधार गरेको छ। विद्युत बिक्रीबाट हुने आम्दानी बढ्नुका साथै वित्तीय खर्च घटेकाले कम्पनीको खुद नाफामा ठूलो वृद्धि देखिएको हो।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म ४२ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको ११ करोड २७ लाख रुपैयाँको तुलनामा २७७.६८ प्रतिशतले बढी हो।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी पनि उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो वर्ष १ अर्ब १२ करोड ६२ लाख रुपैयाँ रहेको यस्तो आम्दानी बढेर १ अर्ब ३३ करोड ४ लाख रुपैयाँ पुगेको छ।
यस्तै, कम्पनीको वित्तीय खर्च ५४ करोड ३६ लाख रुपैयाँबाट घटेर ४६ करोड ५ लाख रुपैयाँमा झरेको छ, जसले नाफा बढाउन महत्वपूर्ण योगदान दिएको छ। यद्यपि, ह्रासकट्टी खर्च ३० करोड ६७ लाख रुपैयाँबाट बढेर ३१ करोड ७९ लाख रुपैयाँ पुगेको छ भने अन्य सञ्चालन खर्च पनि ७ करोड २८ लाख रुपैयाँबाट बढेर ८ करोड ८७ लाख रुपैयाँ पुगेको छ।
हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ रहेको छ। रिजर्भ कोष १४ करोड १४ लाख रुपैयाँबाट बढेर ४५ करोड १४ लाख रुपैयाँ पुगेको छ। साथै, कुल चालु सम्पत्ति ४७ करोड १ लाख रुपैयाँ र कुल चालु दायित्व २२ करोड ५७ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ।
वित्तीय सूचकतर्फ कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १८.४० रुपैयाँ पुगेको छ। प्रतिसेयर नेटवर्थ ११९.५० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४१५.२२ रुपैयाँ तथा तरलता अनुपात २.०८ रहेको वित्तीय विवरणमा उल्लेख छ।


Comment