काठमाडौं । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार बैंकले मुख्य वित्तीय सूचकहरूमा उल्लेख्य सुधार गर्दै खुद नाफा, सञ्चालन नाफा तथा प्रतिशेयर आम्दानीमा उत्साहजनक वृद्धि हासिल गरेको छ।
गत आर्थिक वर्षको अन्त्यसम्म बैंकले ३ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा २ अर्ब ५७ करोड रुपैयाँ रहेको थियो। यस आधारमा बैंकको नाफा ३८.०१ प्रतिशतले बढेको देखिन्छ।
बैंकको खुद ब्याज आम्दानी पनि वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षको ६ अर्ब ३५ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी समीक्षा अवधिमा बढेर ६ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब १९ करोड रुपैयाँबाट बढेर १ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ। यी दुवै स्रोतबाट भएको आम्दानी वृद्धिले बैंकको सञ्चालन नाफालाई बल पुगेको छ। सञ्चालन नाफा अघिल्लो वर्षको ३ अर्ब ५७ करोड रुपैयाँबाट बढेर ५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ।
बैंकको लाभांश वितरण क्षमता पनि सुदृढ बनेको छ। नियामकीय समायोजनपछि असार मसान्तसम्म वितरणयोग्य नाफा २ अर्ब ८३ करोड रुपैयाँ कायम भएको छ, जबकि अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो नाफा २ अर्ब १० करोड रुपैयाँ थियो। चुक्ता पुँजीका आधारमा प्रतिशेयर वितरणयोग्य नाफा २० रुपैयाँ ८५ पैसा पुगेको छ। जसले आगामी लाभांश वितरणका लागि सकारात्मक आधार तयार भएको संकेत गर्छ।
व्यावसायिक विस्तारका हिसाबले पनि बैंकले प्रगति गरेको छ। ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयरसहित बैंकको चुक्ता पुँजी १५ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४ रुपैयाँ रहेको छ। कुल निक्षेप अघिल्लो वर्षको २ खर्ब २३ अर्ब रुपैयाँबाट बढेर २ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ। त्यसैगरी, ग्राहकलाई प्रवाह गरिएको कर्जा १ खर्ब ७६ अर्ब रुपैयाँबाट बढेर १ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ। बैंकको कुल सम्पत्ति पनि विस्तार हुँदै २ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ।
जोखिम व्यवस्थापनतर्फ पनि बैंकले सुधार गरेको देखिन्छ। खराब कर्जा अनुपात ३.०१ प्रतिशतबाट घटेर २.८७ प्रतिशतमा झरेको छ भने खुद निष्क्रिय कर्जा १.०२ प्रतिशतमा सीमित भएको छ।
यद्यपि, बैंकले आगामी दिनमा ब्याजदर अन्तर ३.३९ प्रतिशतमा सीमित हुनु, समग्र व्यावसायिक गतिविधिमा देखिएको सुस्तता तथा डिजिटल प्रविधिमा भइरहेको तीव्र रूपान्तरणलाई प्रमुख चुनौतीका रूपमा औंल्याएको छ। यी चुनौतीबीच बैंकले डिजिटल सेवा विस्तार, निक्षेप संरचनामा सुधार र प्रभावकारी कर्जा असुली रणनीतिमार्फत दीर्घकालीन तथा दिगो वृद्धि हासिल गर्ने लक्ष्य अघि सारेको जनाएको छ।


Comment