काठमाडौं । नेपाली सिमेन्ट उद्योगमा प्रतिस्पर्धा चर्किरहेका बेला होङ्शी शिवम् सिमेन्टले ऋणको भार घटाउँदै आफ्नो वित्तीय अवस्था अझ मजबुत बनाएको छ। कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामै १० अर्ब ३१ करोड ८० लाख रुपैयाँको सञ्चालन आम्दानी गर्दै उच्च सञ्चालन नाफा कायम गरेको छ।
सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको सञ्चालन नाफा मार्जिन ३१ प्रतिशत पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यो २९.१ प्रतिशत रहेको थियो। केही वर्षअघिसम्म दोहोरो अंकमै सीमित रहेको सञ्चालन नाफा निरन्तर बढ्दै गएको देखिन्छ।
कम्पनीले ऋण व्यवस्थापनमा पनि उल्लेखनीय सुधार गरेको छ। कुल ऋण र मूर्त खुद सम्पत्तिको अनुपात घटेर ०.१५ गुणामा पुगेको छ। जुन अघिल्लो वर्ष ०.१७ गुणा थियो। त्यस्तै, कुल ऋण र सञ्चालन नाफाको अनुपात ०.६८ गुणामा झरेको छ। ब्याज तिर्न सक्ने क्षमता २२.१५ गुणा र ऋण भुक्तानी क्षमता १८.७० गुणा पुगेको कम्पनीले जनाएको छ।
यद्यपि कम्पनीको ९ महिनाको सञ्चालन आम्दानी अघिल्लो वर्षको वार्षिक १३ अर्ब २४ करोड रुपैयाँभन्दा कम देखिए पनि चालु वर्षको अन्त्यसम्म अघिल्लो वर्षको कारोबार नाघ्ने सम्भावना रहेको देखिन्छ।
उत्पादन क्षमताका हिसाबले होङ्शी शिवम् नेपालकै सबैभन्दा ठूलो एकीकृत सिमेन्ट उद्योगमध्ये एक हो। कम्पनीको वार्षिक क्लिङ्कर उत्पादन क्षमता करिब २० लाख मेट्रिक टन र सिमेन्ट उत्पादन क्षमता करिब २३ लाख मेट्रिक टन रहेको छ।
नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिकामा रहेको उद्योगले ‘होङ्शी’ ब्रान्डमा साधारण पोर्टल्यान्ड सिमेन्ट र पोर्टल्यान्ड पोजोलाना सिमेन्ट उत्पादन गर्दै आएको छ। आधुनिक प्रविधि र ठूलो उत्पादन क्षमताका कारण कम्पनीले छोटो समयमै बजारमा बलियो उपस्थिति बनाएको छ।
कम्पनीको ७० प्रतिशत स्वामित्व चीनको होङ्शी समूहसँग छ भने बाँकी ३० प्रतिशत स्वामित्व नेपालको शिवम् होल्डिङ्स लिमिटेडसँग रहेको छ। अन्तर्राष्ट्रिय अनुभव र आधुनिक व्यवस्थापन प्रणालीले कम्पनीको उत्पादन र सञ्चालन दक्षता बढाउन सहयोग पुगेको कम्पनीको दाबी छ।
यसैबीच, इक्रा नेपालले कम्पनीको ६ अर्ब रुपैयाँ बराबरको अल्पकालीन कर्जा सीमाको साख मूल्याङ्कन पुनः ‘ए–टु प्लस’ श्रेणीमै यथावत् राखेको छ। यसलाई कम्पनीको बलियो तरलता, ऋण व्यवस्थापन क्षमता र स्थिर वित्तीय प्रदर्शनको संकेतका रूपमा हेरिएको छ।


Comment