युरोमनीका तीन प्रतिष्ठित अवार्ड नबिल बैंकलाई, नेपालकै उत्कृष्ट बैंकको उपाधि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

युरोमनीका तीन प्रतिष्ठित अवार्ड नबिल बैंकलाई, नेपालकै उत्कृष्ट बैंकको उपाधि



काठमाडौं । नबिल बैंक लिमिटेडले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित युरोमनी अवार्ड्स फर एक्सिलेन्स अन्तर्गत एकैपटक तीन विधामा सम्मान प्राप्त गरेको छ। बैंकले ‘नेपाल्स बेस्ट बैंक’, ‘नेपाल्स बेस्ट बैंक फर ईएसजी’ र ‘नेपाल्स बेस्ट बैंक फर एसएमईज्’ उपाधि जित्दै नेपालको बैंकिङ क्षेत्रमा आफ्नो अग्रणी स्थानलाई थप बलियो बनाएको जनाएको छ।

बैंकका अनुसार यी अवार्डले नबिलको सुदृढ वित्तीय अवस्था, डिजिटल बैंकिङमा गरेको रूपान्तरण, जिम्मेवार बैंकिङ अभ्यास तथा वातावरणीय, सामाजिक र सुशासन (ईएसजी) सम्बन्धी पहलसँगै साना तथा मझौला उद्यम (एसएमई) प्रवर्द्धनमा पुर्‍याएको योगदानलाई अन्तर्राष्ट्रिय रूपमा मान्यता दिएका हुन्।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवालीले उक्त सम्मानले बैंकप्रति ग्राहक, कर्मचारी, शेयरधनी र साझेदारहरूले राखेको विश्वासलाई प्रतिबिम्बित गरेको बताए। उनका अनुसार यी अवार्डले नवप्रवर्तन, दिगोपना र समावेशी आर्थिक विकासप्रतिको बैंकको प्रतिबद्धतालाई अझ मजबुत बनाएको छ।

युरोमनी अवार्ड्स फर एक्सिलेन्सलाई विश्व बैंकिङ क्षेत्रकै प्रतिष्ठित अवार्डमध्ये एक मानिन्छ। यसले वित्तीय संस्था, नवप्रवर्तन, नेतृत्व क्षमता र उत्कृष्ट कार्यसम्पादनका आधारमा विभिन्न देशका बैंक तथा वित्तीय संस्थालाई सम्मान गर्दै आएको छ।

बैंकले प्राप्त गरेको ‘नेपाल्स बेस्ट बैंक’ उपाधिले वित्तीय स्थायित्व, ग्राहकमैत्री सेवा, डिजिटल रूपान्तरण र समग्र बैंकिङ उत्कृष्टतालाई सम्मान गरेको छ। त्यसैगरी ‘नेपाल्स बेस्ट बैंक फर ईएसजी’ अवार्डले दिगो वित्त, हरित लगानी, वित्तीय समावेशीकरण र सामाजिक उत्तरदायित्वका क्षेत्रमा बैंकले गरेको कार्यलाई अन्तर्राष्ट्रिय मान्यता दिएको जनाएको छ।

यस्तै ‘नेपाल्स बेस्ट बैंक फर एसएमईज्’ उपाधिले साना तथा मझौला उद्यमलाई लक्षित कर्जा, वित्तीय सेवा तथा व्यवसायिक परामर्शमार्फत उद्यमशीलता र आर्थिक गतिविधि विस्तारमा बैंकले खेलेको भूमिकालाई उजागर गरेको छ।

चार दशकभन्दा लामो समयदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको नबिल बैंकका हाल २६ लाखभन्दा बढी ग्राहक रहेका छन्। बैंकले देशभर २६४ शाखा र ३१५ एटिएममार्फत सेवा दिँदै आएको छ। पछिल्ला वर्षहरूमा डिजिटल बैंकिङ, दिगो वित्तीय अभ्यास र वित्तीय समावेशीकरणमा निरन्तर लगानी गर्दै आएको बैंकले ‘बैंकिङ एण्ड बियोन्ड’ अवधारणामार्फत समृद्ध र समावेशी भविष्य निर्माणमा केन्द्रित रहेको जनाएको छ।

प्रकाशित : 23 July, 2026 4:02 pm