काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नरेन्द्र सिंह बिष्टको दोस्रो कार्यकालका लागि गरिएको पुनर्नियुक्ति निर्णय रद्द गरेको छ। सञ्चालक समितिको साउन ६ गते बसेको ४८८औँ बैठकले यसअघि २०८३ असार ३१ गते सम्पन्न ४८७औँ बैठकबाट बिष्टलाई चार वर्षका लागि दोस्रो कार्यकालमा सीईओ नियुक्त गर्ने निर्णय र त्यसअनुसार गरिएको करार सम्झौता दुवै खारेज गर्ने निर्णय गरेको संस्थाले जनाएको छ।
संस्थाद्वारा जारी सूचनाअनुसार बिष्टले आफ्नो हालको कार्यकाल समाप्त हुने साउन ८ गतेसम्म भने पूर्ववत् रूपमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निर्वाह गर्नेछन्। यसैबीच, नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्ति नभएसम्म संस्थाको दैनिक प्रशासनिक तथा व्यवस्थापकीय काम कारबाही सञ्चालन गर्न कामु नायब महाप्रबन्धक चन्द्रमणि चौलागाईंलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ।
यद्यपि, सञ्चालक समितिले पुनर्नियुक्ति निर्णय किन फिर्ता लिइयो भन्ने विषयमा कुनै कारण सार्वजनिक गरेको छैन। यसबारे संस्थाको आधिकारिक धारणा अझै सार्वजनिक हुन बाँकी रहेको छ।


Comment