काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानीमा अनावश्यक ढिलाइ, तथ्य लुकाउने, गलत मूल्याङ्कन गर्ने वा अन्य कुनै अनियमितता भए प्रमाणसहित उजुरी दिन सर्वसाधारणलाई आग्रह गरेको छ।
प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै बीमा कम्पनी, तिनका कर्मचारी, बीमा सर्भेयर वा अन्य सरोकारवाला पक्षबाट बीमासम्बन्धी प्रचलित कानुन, नियामकीय व्यवस्था तथा व्यावसायिक आचारसंहिता विपरीत कार्य भएको गुनासो प्राप्त भइरहेकाले त्यस्ता घटनाको प्रमाणसहित उजुरी पेश गर्न आह्वान गरेको हो।
प्राधिकरणका अनुसार बीमाको दायित्व निर्धारण तथा दाबी भुक्तानीका क्रममा कुनै समस्या आए, गलत विवरण तयार गरिएको, तथ्य लुकाइएको, तथ्य तोडमोड गरिएको, पक्षपातपूर्ण मूल्याङ्कन गरिएको, अनुचित लाभ लिइएको वा अन्य कुनै कानुनविपरीत कार्य भएको पाइएमा सम्बन्धित व्यक्ति वा संस्थाविरुद्ध बीमा ऐन, २०७९ बमोजिम अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाइनेछ।
उजुरी पेश गर्दा उजुरीकर्ताको नाम, ठेगाना, सम्पर्क नम्बर, सम्बन्धित बीमा कम्पनीको नाम, समस्याको स्पष्ट विवरण, बीमालेख नम्बर, दाबी नम्बर तथा दाबी पुष्टि हुने कागजात, फोटो, भिडियो वा अन्य प्रमाण संलग्न गर्नुपर्ने प्राधिकरणले जनाएको छ।
सर्वसाधारणले ललितपुरको कुपण्डोलस्थित नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालयमा प्रत्यक्ष उपस्थित भएर, ईमेल वा हुलाकमार्फत पनि उजुरी पेश गर्न सक्ने व्यवस्था गरिएको छ।
प्राधिकरणले प्राप्त उजुरी तथा प्रमाणहरूको गोपनीयता कायम राखिने उल्लेख गर्दै बीमा ऐन, २०७९ तथा अन्य प्रचलित कानुनबमोजिम अनुसन्धान गरी आवश्यक कारबाही गरिने जनाएको छ।






Comment