काठमाडौं । नेपाली अटोमोबाइल बजारमा स्कोडाले आफ्नो लोकप्रिय एसयूभी कुशाकको नयाँ फेसलिफ्ट संस्करण सार्वजनिक गरेको छ। आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि ग्रुपले १.५ लिटर टीएसआई इन्जिनसहितका मोन्टे कार्लो र स्पोर्टलाइन भेरियन्ट नेपाली बजारमा ल्याएको हो। कम्पनीका अनुसार आइतबारदेखि नै नयाँ कुशाक खरिदका लागि उपलब्ध भएको छ।
नयाँ कुशाक सार्वजनिक कार्यक्रममा एमएडब्लु वृद्धि ग्रुपका प्रबन्ध निर्देशक तथा अध्यक्ष विष्णु अग्रवालले स्कोडाको इतिहाससँगै नेपालसँग रहेको सम्बन्धबारे चर्चा गरे। उनले सन् १८९५ मा चेक गणतन्त्रबाट साइकल उत्पादनमार्फत सुरु भएको स्कोडाको यात्रा आज विश्वव्यापी अटोमोबाइल ब्रान्डका रूपमा स्थापित भएको उल्लेख गरे। चेक गणतन्त्र र नेपाल दुवै साना तर गौरवशाली राष्ट्र भएकाले स्कोडासँग नेपालको विशेष निकटता रहेको उनको भनाइ थियो।
अग्रवालका अनुसार नयाँ कुशाक नेपालको सडक अवस्था र वातावरणलाई ध्यानमा राखेर स्कोडा २.० प्लेटफर्ममा विकास गरिएको पहिलो मोडल हो। हालसम्म नेपालमा ६०० भन्दा बढी कुशाक बिक्री भइसकेको उल्लेख गर्दै उनले यसले नेपाली ग्राहकमाझ आफ्नो स्थान बनाइसकेको बताए।
युरोपेली इन्जिनियरिङ र सुरक्षामा जोड
कम्पनीका अनुसार स्कोडाको प्रमुख विशेषता युरोपेली इन्जिनियरिङ, उच्च सुरक्षा र आरामदायी ड्राइभिङ अनुभव हो। नयाँ कुशाकले वयस्क तथा बालबालिका दुवैको सुरक्षामा ग्लोबल एनक्यापबाट ५-स्टार सुरक्षा रेटिङ प्राप्त गरेको कम्पनीले जनाएको छ।
यसमा १.५ लिटर टीएसआई इन्जिनसँग डीएसजी (डुअल क्लच अटोमेटिक) ट्रान्समिसन जडान गरिएको छ। कम्पनीका अनुसार यो संयोजनले शक्तिशाली प्रदर्शनसँगै सहज ड्राइभिङ अनुभव प्रदान गर्छ।
गाडीमा यस वर्गमै दुर्लभ मानिने रियर मसाज सिटको सुविधा पनि उपलब्ध गराइएको छ। कम्पनीले यो सुविधा लामो दूरीको यात्रालाई थप आरामदायी बनाउने जनाएको छ।
मोन्टे कार्लो र स्पोर्टलाइन भेरियन्ट
स्कोडाको करिब ९० वर्ष लामो मोटरस्पोर्ट इतिहासबाट प्रेरित मोन्टे कार्लो भेरियन्ट प्रिमियम र स्पोर्टी डिजाइन मन पराउने ग्राहकलाई लक्षित गरिएको कम्पनीको भनाइ छ। स्पोर्टलाइन भेरियन्टले पनि आधुनिक डिजाइन र उत्कृष्ट ड्राइभिङ अनुभवमा जोड दिएको छ।
नयाँ स्कोडा कुशाकको सुरुवाती मूल्य ५७ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ। कम्पनीले इच्छुक ग्राहकलाई टेस्ट ड्राइभमार्फत नयाँ कुशाकको अनुभव लिन आग्रह गरेको छ।
एमएडब्लु वृद्धि ग्रुपका अनुसार हाल नेपालका सडकमा स्कोडा ब्रान्डका करिब २ हजार गाडी सञ्चालनमा रहेका छन्।






Comment