काठमाडौं । दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सवका अवसरमा नबिल बैंकले वृक्षारोपण गरी साताव्यापी नबिल ग्रिन विक, २०२६ समापन गरेको छ । नबिल दिगो बचत खाता तथा दिगो बैंकिङको वार्षिकोत्सवका अवसरमा साताव्यापी रूपमा विभिन्न कार्यक्रम गरी ग्रिन विक मनाइएको बैंकले जनाएको छ ।
काठमाडौंको टोखा नगरपालिका– २ स्थित गलेपार्कमा दुई सयवटा एभोकाडोका बिरुवा रोपिएको बैंकको भनाइ छ । नबिल बैंक तथा लुम्बिनी वर्ल्ड पिस फोरम नेपालको सहकार्यमा भएको कार्यक्रममा काठमाडौंको टोखा नगरपालिका– २ का वडा कार्यालयले संरक्षण गर्ने गरी वृक्षारोपण सम्पन्न गरिएको हो ।
वृक्षारोपण कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीलगायत अन्य कर्मचारी, स्थानीयलगायत वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठको उपस्थिति थियो । उक्त अभियानले वातावरण संरक्षण तथा समुदायको आर्थिकस्तर बलियो बनाउन योगदान पुर्याउने बैंकले विश्वास व्यक्त गरेको छ ।
सिइओ ज्ञवालीले बैंकले दिगो बैंकिङप्रतिको आफ्नो प्रतिबद्धतालाई व्यवहारमा उतार्ने उद्देश्यले वृक्षारोपण गरिएको बताए । उनले पछिल्लो पाँच वर्षमा मात्रै डिजिटलाइजेसनका माध्यमबाट २० मेट्रिकटनभन्दा बढी कागत बचत गरेको दाबी गरे । बैंकले दिगो विकास, लैंगिक समानतालाई पनि प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम आयोजना गरिरहेको उनको भनाइ थियो ।
बैंकका अनुसार नवीकरणीय ऊर्जामा ५१ अर्ब ८३ करोड रुपैयाँ, स्वच्छ यातायातमा १० अर्ब २८ करोड रुपैयाँ, कृषि क्षेत्रमा ५४ अर्ब २८ करोड रुपैयाँ, सूक्ष्म, साना तथा मझौला उद्यम (एमएसएमई)मा ४५ अर्ब ७७ करोड रुपैयाँ लगानी गरिएको छ । साथै, महिला तथा महिला उद्यमी वित्तपोषणमा ४८ अर्ब ६० करोड रुपैयाँ, पर्यटन क्षेत्रमा ११ अर्ब आठ करोड रुपैयाँ तथा डिडिएसएल कर्जाअन्तर्गत पाँच अर्ब ८४ करोड रुपैयाँ लगानी भइसकेको छ ।






Comment