काठमाडौं । नेपाल–चीनबीच व्यापार, लगानी र औद्योगिक सहकार्य विस्तार गर्ने उद्देश्यले चीनमा आयोजित नेपाल–चीन बिजनेस एन्ड इन्भेस्टमेन्ट फोरममा नेपाललाई उत्पादन, नवप्रवर्तन र दिगो विकासका लागि रणनीतिक साझेदारका रूपमा अघि बढाउन जोड दिइएको छ।
अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनका लागि नेपाली दूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेड र चाइना चेम्बर अफ इन्टरनेशनल कमर्सको सहकार्यमा जुलाई १ र २ मा सम्पन्न फोरमलाई सम्बोधन गर्दै नेपाल निर्यात व्यवसायी महासंघका अध्यक्ष गोविन्द प्रसाद घिमिरेले नेपालमा लगानी, प्रविधि हस्तान्तरण र औद्योगिक सहकार्य विस्तार गर्न निजी क्षेत्र पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए।
उनले चीनले नेपाली वस्तुका लागि उपलब्ध गराएको शून्य भन्सार सुविधाको अपेक्षित उपयोग हुन नसक्दा नेपालले ठूलो व्यापार घाटा व्यहोर्नुपरेको उल्लेख गरे। “हामीले चीनले प्रदान गरेको शून्य भन्सार सुविधाको पूर्ण लाभ लिन सकेका छैनौं। अब यस अवसरलाई वास्तविक आर्थिक उपलब्धिमा रूपान्तरण गर्ने समय आएको छ,” उनले भने।
अध्यक्ष घिमिरेले हस्तनिर्मित कार्पेट, पश्मिना, उच्च गुणस्तरको चिया, कफी, जडीबुटी, मसला तथा डेरीजन्य उत्पादनजस्ता उच्च मूल्यका नेपाली वस्तुको चीनमा निर्यात विस्तार गर्ने प्रशस्त सम्भावना रहेको बताए।
तथ्यांकअनुसार चालु आर्थिक वर्षको ११ महिनामा नेपालले चीनबाट करिब ३८२ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ भने चीनतर्फको निर्यात केवल १ अर्ब ५८ करोड रुपैयाँमा सीमित रहेको छ। यसले नेपाल–चीन व्यापारमा ठूलो असन्तुलन रहेको देखाएको छ।
कार्यक्रममा चीनका लागि कार्यवाहक नेपाली राजदूत रोशन खनालले नेपाल सरकार विदेशी लगानीका लागि अनुकूल वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको बताउँदै हालका वर्षहरूमा लगानीमैत्री नीतिगत सुधारहरू अघि बढाइएको जानकारी दिए।
चाइना चेम्बर अफ इन्टरनेशनल कमर्सका द्विपक्षीय सहयोग विभागका महानिर्देशक जु क्वाडले फोरमले दुवै देशका व्यवसायीबीच नयाँ सहकार्यका क्षेत्र पहिचान गर्न महत्वपूर्ण भूमिका खेलेको बताए।
नेपाल उद्योग वाणिज्य महासंघको निर्यात प्रवर्द्धन समितिका सभापति होमप्रसाद घिमिरेले औद्योगिक सहकार्य, प्रविधि हस्तान्तरण तथा दिगो लगानीमार्फत नेपाल–चीन आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउने अवसर सिर्जना भएको उल्लेख गरे। उनले नेपाललाई विदेशी लगानीका लागि उदीयमान गन्तव्यका रूपमा स्थापित गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे।
नेपाली दूतावासकी आर्थिक कूटनीति प्रमुख पार्वती अर्यालले सम्मेलनले चिनियाँ लगानीकर्ता तथा उद्यमीलाई नेपालको लगानी सम्भावना प्रत्यक्ष रूपमा बुझ्ने अवसर प्रदान गरेको बताए।
फोरममा नेपाल र चीनका विभिन्न क्षेत्रका उद्योगी, व्यवसायी तथा लगानीकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो।






Comment