काठमाडौं । नेपाल र स्पेनबीच व्यापार तथा लगानी सम्बन्धलाई नयाँ उचाइमा पु-याउने उद्देश्यका साथ म्याड्रिडस्थित नेपाली दूतावासले आयोजना गरेको ‘नेपाल–स्पेन बिजनेस फोरम २०२६’ ले नेपाली उत्पादनलाई युरोपेली बजारमा प्रवद्र्धन गर्ने सम्भावनाबारे सकारात्मक सन्देश दिएको छ ।
नेपाल र स्पेनका सरकारी अधिकारी, व्यापारिक संस्था, लगानी प्रवद्र्धन निकाय, गार्मेन्ट तथा गरगहनासम्बन्धी व्यवसायीको सहभागिता रहेको हाइब्रिट फोरमले दुई देशबीचको व्यापारिक सम्बन्धलाई थप मजबुत बनाउने साझा प्रतिबद्धता व्यक्त निर्यात व्यवसायी महासंघका अध्यक्ष गोविन्द प्रसाद घिमिरेले बताए ।
कार्यवाहक राजदूत पुरक अधिकारीले नेपालका उद्योगहरू पुस्तौंदेखि नै नैतिक रूपमा प्राप्त कच्चा पदार्थ र स्थानीय प्रविधिमा आधारित उत्पादनमा केन्द्रित रहेको उल्लेख गर्दै यस्ता उत्पादनले अन्तर्राष्ट्रिय बजारमा विशिष्ट पहिचान बनाउन सक्ने बताए । नेपाल व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवीनराज शर्माले नेपाली उत्पादनको गुणस्तर, मौलिकता र दिगोपनाले युरोपेली उपभोक्ताको रुचि आकर्षित गर्न सक्ने धारणा राखे ।
निर्यात व्यवसायी महासंघ नेपालका अध्यक्ष गोविन्द घिमिरे नेपाल स्पेनका नीजि क्षेत्रबिच सहकार्य गरेर अगाडी बढ्न सक्ने आधार प्रस्तुत गरे । उनले नेपाल र स्पेनको व्यापारी साझेदारी नयाँ ढंगबाट अगाडि बढाउनेतर्फ केन्द्रीत हुने बताए । फिनका उपाध्यक्ष देवनन्द सारावगीले नेपाल–स्पेन व्यापारको इतिहास र वर्तमान संरचनाबारे जानकारी दिँदै च्याङ्ग्रा ऊन, हिमाली भेडाको ऊन, भाङ (हेम्प) र अल्लो (नेटल) जस्ता प्राकृतिक रेशा प्रयोग गरी तयार गरिएका नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजारमा बढ्दो माग रहेको बताए । उनीहरूले कार्पेट, गार्मेन्ट, पस्मिन, हस्तनिर्मित चाँदीका गरगहना, प्रार्थना मालालगायत परम्परागत गहनाले विशेष बजार सिर्जना गरिरहेको उल्लेख गरे ।
गार्मेन्ट एसोसिएसन नेपालका अध्यक्ष पशुपति देव पाण्डेले पछिल्ला वर्षहरूमा कानुनी तथा नीतिगत सुधारका कारण नेपालको तयारी पोसाक उद्योगले उल्लेखनीय प्रगति गरेको भन्दै स्पेनसँगको व्यापारिक सहकार्यले यस क्षेत्रलाई थप गति दिने विश्वास व्यक्त गरे ।
स्पेन चेम्बर अफ कमर्सका अन्तर्राष्ट्रिय सम्बन्ध विभागका उपनिर्देशक लुइस रोड्रिगेजले स्पेनको फेसन र गरगहना उद्योगको परिचय दिँदै स्पेनी उपभोक्ता मौलिक र फरक अन्तर्राष्ट्रिय उत्पादनप्रति आकर्षित हुँदै गएको बताए । उनले नेपाली उत्पादनले स्पेनी बजारमा राम्रो सम्भावना बोकेको उल्लेख गर्दै दुई देशका निजी क्षेत्रबीच प्रत्यक्ष व्यापारिक साझेदारी विस्तार गर्नुपर्नेमा जोड दिए ।
फोरममा दुई देशका व्यवसायीले अन्तक्रिया र नेटवर्किङ गरेका थिए । सहभागी व्यवसायीहरूले यस्ता कार्यक्रमले व्यापारिक सम्बन्ध विस्तार, नयाँ साझेदार खोज्न र नेपाली उत्पादनलाई युरोपेली बजारमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।
नेपालका प्राकृतिक स्रोतमा आधारित, हस्तनिर्मित तथा दिगो उत्पादनलाई विश्व बजारमा स्थापित गर्ने प्रयासका बीच सम्पन्न यस फोरमलाई नेपाल–स्पेन आर्थिक सम्बन्ध विस्तारतर्फको एउटा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।






Comment