सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन :बालेन शाह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
१० मंसिर २०८३, बिहिबारThursday, November 26, 2026

अर्थतन्त्र

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन :बालेन शाह

काठमाडौं । प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले रास्वपाको यात्रा अब स्थानीय सडकमा नभई ‘एक्सप्रेस वे’ मा दौडिरहेको भन्दै गन्तव्यमा नपुग्दासम्म पार्टीको अभियान नरोकिने बताएका छन्।

आइतबार चितवनमा आयोजित रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले विभिन्न अतिथिहरूले पार्टी र सरकारलाई दिएको सुझाव तथा चिन्ताप्रति धन्यवाद व्यक्त गरे । 

शाहले सरकारलाई गाडीसँग तुलना गर्दै भने, ‘सरकार भनेको गाडीजस्तै हो । गाडीमा एक्सिलेटर मात्र होइन, ब्रेक पनि हुन्छ । ब्रेक लगाउनुपर्छ भन्ने चिन्ता स्वाभाविक हो । स्थानीय सडकमा हिँड्दा दायाँ–बायाँबाट धेरै चिन्ता आउँछन्। तर हाम्रो गाडी लोकल रोडमा हिँडेको होइन, एक्सप्रेस वेमा हिँडेको गाडी हो। गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छ ।’

उनले रास्वपाको यात्रा अनियन्त्रित नभएको स्पष्ट पार्दै पार्टी र सरकारप्रति व्यक्त गरिएका चासो र सुझावलाई सकारात्मक रूपमा लिएको बताए ।

जनमत अस्थिर हुने र हावाको दिशाजस्तै बदलिने टिप्पणीप्रति प्रतिक्रिया दिँदै शाहले भने,‘जनताको भोट हावा जस्तो हुन्छ, कहिले यताबाट त कहिले उताबाट चल्छ भनेर चिन्ता व्यक्त गरिएको छ । तर हामीले कुनै हावा उडाएका छैनौं। हामीले बाढी ल्याएर खोला फर्काएका हौं। त्यसैले त्यो आफ्नै बाटोमा निरन्तर बगिरहन्छ ।’

उनले रास्वपाले स्थापित राजनीतिक प्रवृत्तिलाई परिवर्तन गर्दै नयाँ राजनीतिक धार निर्माण गरेको दाबी गर्दै जनताले दिएको विश्वासलाई सुशासन, विकास र परिणाममार्फत अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित : ७ असार २०८३, आइतबार १७:५६ 21 June, 2026 5:56 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।