आवश्यक परे अख्तियारसँग ५ घण्टा होइन, ५ वर्षसम्म पनि परामर्श गर्न तयार छाैँः बालेन शाह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

आवश्यक परे अख्तियारसँग ५ घण्टा होइन, ५ वर्षसम्म पनि परामर्श गर्न तयार छाैँः बालेन शाह



काठमाडौं । प्रधानमन्त्री बालेन शाहले विगतमा सरकारी सम्पत्तिको दोहन तथा अनियमितता भएको भए त्यसबारे खोजबिन गर्न आवश्यक रहेको बताएका छन्।

आइतबार रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले विकास र सुशासनलाई प्राथमिकता दिने पार्टीले प्रतिशोधको राजनीति नगर्ने, तर आवश्यक परे विगतका गलत अभ्यासबारे छानबिन गर्न पछि नहट्ने बताए।

उनले नियम र कानुनको परिधिभित्र रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग आवश्यक परामर्श गर्न आफूहरू तयार रहेको उल्लेख गरे।

‘निहुँ खोज्दै गर्दा अख्तियारलाई ५ घण्टा सोधपुछ गर्नुपर्छ, सल्लाह लिनुपर्छ भने ५ घण्टा मात्रै होइन, ५ वर्षसम्म पनि अख्तियारसँग सल्लाह गरेर अघि बढ्न तयार छौं । हामी नियमभन्दा बाहिर जाँदैनौं,’ उनले भने।

शाहले आफ्नो पार्टीलाई विकासमुखी र काममुखी राजनीतिक शक्ति भएको दाबी गर्दै देशलाई अघि बढाउने लक्ष्यका साथ काम गरिरहेको बताए।

‘हाम्रो पार्टी विकासवादी पार्टी हो, काम गर्ने पार्टी हो, अगाडि बढ्ने पार्टी हो । हामी पुराना विषयलाई लिएर प्रतिशोध साँध्दै बस्ने पक्षमा छैनौं,’ उनले भने, ‘तर अगाडि बढ्ने क्रममा विगतमा केही फट्याइँ भएका छन्, सरकारी सम्पत्तिको दोहन भएको छ भने त्यसको खोजबिन गर्न आवश्यक छ ।’

प्रकाशित : 21 June, 2026 5:52 pm