काठमाडौं । शिक्षा केवल ज्ञान आर्जनको माध्यम मात्र होइन, राष्ट्र निर्माणको आधार पनि हो। यही आधारलाई थप मजबुत बनाउने उद्देश्यसहित आयोजना गरिएको ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ शिक्षा क्षेत्रका उत्कृष्ट संस्था, शिक्षाविद् र शैक्षिक नेतृत्वकर्ताहरूको सम्मानसँगै बौद्धिक बहसको महत्वपूर्ण मञ्चका रूपमा सम्पन्न भएको छ।
केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा ललितपुरस्थित द प्लाजामा सम्पन्न समारोहले शिक्षा क्षेत्रमा उत्कृष्ट कार्य गरिरहेका विद्यालय, कलेज, शिक्षाविद् तथा शैक्षिक परामर्श संस्थाहरूलाई सम्मानित मात्र गरेन, नेपालको शिक्षा प्रणालीको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे गम्भीर विमर्शको अवसर पनि प्रदान गर्यो।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा. ओजश्वी शेरचनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा शिक्षा क्षेत्रका नीति निर्माता, विश्वविद्यालयका पदाधिकारी, विद्यालय तथा कलेज सञ्चालक, शिक्षक, विद्यार्थी र सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता थियो।
शिक्षामा लगानीदेखि ‘एजुकेसन हब’ सम्मको बहस
अवार्ड समारोहअघि आयोजित दुई विशेष प्यानल डिस्कसन कार्यक्रमको मुख्य आकर्षण बने। पहिलो सत्र ‘शिक्षामा निजी क्षेत्रको लगानी’ मा केन्द्रित थियो। निजी क्षेत्रले नेपालको शिक्षा क्षेत्रमा पुर्याएको योगदान, लगानीको सुरक्षा, बैंकिङ क्षेत्रको भूमिका र सरकारी नीतिको प्रभावबारे गहन छलफल भएको थियो।
राष्ट्रिय परीक्षा बोर्डका पूर्वअध्यक्ष महाश्रम शर्मा र हिसान तथा प्याब्सनका पूर्वअध्यक्ष उमेश श्रेष्ठले की–नोट वक्ताका रूपमा निजी क्षेत्रको योगदानलाई राज्यले उचित रूपमा मूल्यांकन गर्नुपर्ने धारणा राखे। त्यसपछि भएको प्यानल छलफलमा शिक्षा मन्त्रालय, बैंकिङ क्षेत्र तथा निजी शिक्षण संस्थाका प्रतिनिधिहरूले शिक्षा क्षेत्रमा लगानीमैत्री वातावरण निर्माणको आवश्यकता औँल्याए।
दोस्रो सत्र ‘के नेपाललाई एजुकेसन हब बनाउन सकिन्छ ?’ विषयमा केन्द्रित थियो। छलफलमा सहभागी वक्ताहरूले नेपालमा उच्च शिक्षा र प्राविधिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न सके विदेशी विद्यार्थी आकर्षित गर्न सकिने तथा शिक्षा क्षेत्रलाई मुलुकको आर्थिक विकाससँग जोड्न सकिने धारणा व्यक्त गरे। उनीहरूको निष्कर्ष थियो । नेपालसँग सम्भावना प्रशस्त छ, तर त्यसका लागि नीतिगत सुधार र व्यावहारिक शिक्षामा जोड दिन आवश्यक छ।
दुई व्यक्तित्व, जसले शिक्षामा जीवन समर्पण गरे
यस वर्षको समारोहमा शिक्षा क्षेत्रमा दीर्घकालीन योगदान पुर्याएका दुई व्यक्तित्वलाई ‘शिक्षा क्षेत्रका लागि प्रोज्ज्वल नक्षत्र २०८३’ उपाधिबाट सम्मान गरिएको छ।
सुदूरपश्चिम विश्वविद्यालयका प्रथम संस्थापक उपकुलपति प्रा.डा. जयराज अवस्थी नेपाली उच्च शिक्षाका प्रतिष्ठित नाम हुन्। दार्चुलाको दुर्गम भूगोलबाट यात्रा सुरु गरेका अवस्थीले त्रिभुवन विश्वविद्यालयमा लामो समय अध्यापन र अनुसन्धानमा बिताए। सुदूरपश्चिम विश्वविद्यालय स्थापना र संस्थागत विकासमा उनको भूमिका ऐतिहासिक मानिन्छ।
यस्तै, विक्रम राई लाई माध्यमिक शिक्षामा उल्लेखनीय योगदानका लागि सम्मानित गरिएको छ। प्रसादी एकेडेमीलाई देशकै उत्कृष्ट शैक्षिक संस्थामध्ये एकका रूपमा स्थापित गर्न उनले खेलेको भूमिका महत्वपूर्ण मानिन्छ। प्रविधिमैत्री शिक्षा, व्यवस्थापन क्षमता र शैक्षिक अनुशासनका कारण उनले हजारौं विद्यार्थीको भविष्य निर्माणमा योगदान पुर्याएका छन्।
विशिष्ट शिक्षा सम्मान
शिक्षा क्षेत्रको विकास, व्यवस्थापन र संस्थागत सुदृढीकरणमा योगदान पुर्याएका पिनाकल एकेडेमीका प्रिन्सिपल डा. ऋषी तिवारी, काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. भोला थापा तथा राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव जंगबहादुर अर्याल लाई ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान २०८३’ प्रदान गरिएको थियो।
उत्कृष्टताको पहिचान
अवार्ड समारोहको मुख्य आकर्षण देशभरका उत्कृष्ट शैक्षिक संस्थाहरूको सम्मान थियो। राष्ट्रिय परीक्षा बोर्डको शैक्षिक नतिजा, संस्थागत योगदान र शैक्षिक वातावरणका आधारमा काठमाडौं मोडल सेकेन्डरी स्कुल (केएमसी), ट्रिनिटी इन्टरनेसनल सेकेन्डरी स्कुल तथा विश्व निकेतन सेकेन्डरी स्कुललाई सर्वोत्कृष्ट विद्यालयका रूपमा सम्मान गरिएको छ।
यसका अतिरिक्त विभिन्न विधामा नासा, लिभरपुल, रिलायन्स, सेन्ट लरेन्स, मेरील्याण्ड, अरनिको, मदरल्याण्ड, नोबेल, लिटिल एन्जल्स, भीएस निकेतन, नेपाल काष्ठमण्डप, युनिग्लोबललगायत संस्थाहरू सम्मानित भएका छन्।
प्रदेशगत रूपमा पनि सातै प्रदेशका उत्कृष्ट सामुदायिक विद्यालयहरूलाई सम्मान गर्दै सामुदायिक शिक्षामा भइरहेका सकारात्मक अभ्यासलाई राष्ट्रिय स्तरमा उजागर गरिएको थियो।
शैक्षिक परामर्श क्षेत्रमा योगदानको कदर
कार्यक्रममा विदेश अध्ययनका लागि नेपाली विद्यार्थीलाई मार्गदर्शन गर्दै आएका प्रतिष्ठित शैक्षिक परामर्श संस्थाहरूलाई पनि विभिन्न विधामा सम्मान गरिएको थियो। युक्यान, कङ्गारु एजुकेसन, अप्टिमस ग्लोबल, केआईईसी, इन्फर्मेटिक्स, अर्बिट इन्टरनेसनल, ओपन भिजनलगायत संस्थाहरूले विभिन्न अवार्ड प्राप्त गरेका छन्।
सम्मानभन्दा बढी, बहसको मञ्च
‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड’ केवल पुरस्कार वितरण कार्यक्रममा सीमित रहेन। यसले शिक्षा क्षेत्रका सरोकारवालाहरूलाई एउटै मञ्चमा ल्याएर नेपालको शिक्षा प्रणाली सुधार, लगानीको वातावरण, अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र गुणस्तरीय शिक्षाको भविष्यबारे खुला बहस गर्ने अवसर पनि प्रदान गर्यो।
शिक्षामा उत्कृष्टता खोज्ने संस्थाहरूलाई प्रेरणा दिने र शिक्षा क्षेत्रका नीति निर्माणकर्तालाई सोच्न बाध्य पार्ने यस्ता कार्यक्रमले नेपालको शिक्षा प्रणालीलाई थप गतिशील र प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।






Comment