काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन सुधारका लागि नाडा–ट्राफिक प्रहरीबीच छलफल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन सुधारका लागि नाडा–ट्राफिक प्रहरीबीच छलफल



काठमाडौं । नेपल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) र नेपाल डेमोक्रेटिक भेहिकल्स इम्प्लोयर्स एशोसिएसन (नेडिभिओ) बीच काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन सुधार तथा यातायात क्षेत्रका समस्या समाधानका विषयमा विस्तृत छलफल भएको छ ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका नवनियुक्त प्रमुखसँग भेट गरी यातायात व्यवस्थापनमा देखिएका विभिन्न चुनौती, सुधारका सम्भावना तथा सहकार्यका विषयमा विचार–विमर्श गरेको हो ।

छलफलका क्रममा नवनियुक्त ट्राफिक प्रहरी प्रमुखले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन सम्बन्धित सरोकारवाला निकायसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले उपत्यकाभित्र सवारी चाप व्यवस्थापन, दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियम पालना गराउने अभियानलाई अझ सशक्त बनाइने बताए ।

छलफलमा सवारी साधनको बढ्दो चाप, सडक पूर्वाधारको सीमितता, दुर्घटना जोखिम, र जनचेतनाको अभावका कारण ट्राफिक व्यवस्थापनमा चुनौती बढिरहेको विषयमा विस्तृत समीक्षा गरिएको थियो । साथै, विद्युतीय प्रविधि (AI) आधारित ट्राफिक व्यवस्थापन प्रणाली लागू गर्ने सम्भावनाबारे पनि प्रारम्भिक छलफल भएको बताइएको छ ।

प्रतिनिधिमण्डलले निजी सवारी साधन प्रयोग गर्ने ग्राहक, डिलर तथा सेवा प्रदायकबीच समन्वय मजबुत बनाउन लाइसेन्स प्रक्रिया, सेवा केन्द्रको क्षमता विस्तार र जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएको थियो ।

नाडाका अध्यक्ष उप्रेतीले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन सरकारी निकायसँग निरन्तर सहकार्य आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता समन्वयात्मक कार्यक्रमलाई निरन्तरता दिइने बताए ।

छलफलमा नाडाका महासचिव मिलनबाबु मल्ल लगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित : 15 June, 2026 4:11 pm